गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँवेशीमा बारी जोत्ने क्रममा ट्याक्टरले च्यापिएर एक चालकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार भदौ ७ गते ट्याक्टरले च्यापिएर चितवनका ४५ वर्षीय मोहनबहादुर बोहराको मृत्यु भएको हो।
स्थानीय हरि पोखरेलको बारी जोतिसकेर फर्किने क्रममा बोहरा आफैंले चलाएको ग १ त ७५४८ नम्बरको ट्याक्टरले च्यापिएका थिए। उक्त दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए।
घाइते बोहरालाई पहिलो चरणमा प्रदेश अस्पताल गोरखा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई नेशनल सिटी अस्पताल चितवन पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले दुर्घटनामा घाइते भएका बोहराको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।







