मुख्य सामग्रीमा जानुहोस्

सम्भावित विपद्का लागि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय

विपद्को सम्भावनालाई ध्यान दिँदै मन्त्रालयले आपत्कालीन स्वास्थ्य प्रणाली तयारी अवस्थामा राखेको छ। अस्पतालको शय्या व्यवस्थापनदेखि एम्बुलेन्स तयारीसम्मका काम अघि बढाइएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
सम्भावित विपद्का लागि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय
Nagariknetwork

संभावित विपद् र आपत्कालीन स्वास्थ्य जोखिमको सामना गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचइओसी) सक्रिय पारेको छ। यो केन्द्र सक्रिय भएसँगै आपत्कालीन स्वास्थ्य सेवा र उद्धारका कामलाई प्रभावकारी ढङ्गले अघि बढाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताका अनुसार आपत्कालीन अवस्थामा स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय तथा काठमाडौँस्थित सङ्घीय अस्पताल र रक्तसञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको छ।

यस्तै, काठमाडौँका अस्पतालहरूमा उपलब्ध शय्या तथा खाली ठाउँको विवरण अद्यावधिक गरिएको छ। आवश्यकताअनुसार बिरामीहरूलाई व्यवस्थापन गर्ने तयारीलाई पनि अघि बढाइएको छ। एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य सामग्री र उपकरणहरूलाई पनि तयारी अवस्थामा राखिएको छ।

आपत्कालीन स्वास्थ्य सहयोग, सूचना तथा समन्वयका लागि मन्त्रालयको हेल्पलाइन १११५ मा सम्पर्क गर्न मन्त्री मेहताले आग्रह गरेकी छन्। विपद् तथा आपत्कालीन अवस्थामा तत्काल स्वास्थ्य सेवा पुर्‍याउन यो व्यवस्थाले सहयोग पुग्ने विश्वास लिइएको छ।