मुख्य सामग्रीमा जानुहोस्

दशैं–तिहारका लागि घर फर्कने सपना, रसुवाको बाढीले बगायो पाँच जनाको परिवार

दशैं–तिहारमा परिवारसँगै घर फर्किने योजना बनाएका गिरिलाल बुढाथोकीको सिंगो परिवार बुधबारको बाढीमा आँखैअगाडि बगिएको छ। उनी आफैं घाइते भएका छन् र परिवारका सदस्यको अवस्थाबारे जानकारी नभएको बताएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
दशैं–तिहारका लागि घर फर्कने सपना, रसुवाको बाढीले बगायो पाँच जनाको परिवार
Online Khabar

रसुवाको टिमुरेमा बुधबार बिहान आएको विनाशकारी बाढीले सल्यानका ३८ वर्षीय गिरिलाल बुढाथोकीकी पत्नी, दुई छोरा र दुई छोरी बगाएको छ। आफ्नै आँखा अगाडि पाँच जनाको परिवार बगिएपछि बुढाथोकी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको आकस्मिक कक्षमा उपचाररत छन्। बाढीले उनको शरीरमा गहिरो चोट पुर्‍याएको छ भने मानसिक पीडा अझै बेस्सरी छ।

करिब पाँच वर्षदेखि टिमुरेमा बसोबास गर्दै आएका बुढाथोकीले यसपटक दशैं–तिहारमा परिवारसहित आफ्नो जन्मथलो फर्किने योजना बनाएका थिए। परदेशजस्तै लाग्ने हिमाली गाउँमा बिताएका वर्षौंपछि परिवारलाई लिएर घर फर्कने सपना उनले बुनेका थिए। दैनिकी चलाउन उनी फोहोर बोक्ने गाडी चलाउँथे। परिवारलाई लिएर दशैं–तिहारमा घर फर्किने त्यही सपनाका लागि उनी दिनभरि मेहनत गर्थे।

बुधबार बिहान पनि उनी कामकै सिलसिलामा घरबाट निस्किएका थिए। करिब ९ बजेर १० मिनेट जाँदा उनले तल सवारी जाम देखे। खाना खाएर मात्र जाने भन्दै उनी घरतिर फर्किए। आँगन पुग्न लाग्दा उनले जीवनकै सबैभन्दा भयानक दृश्य देखे। उताबाट एक्कासि ठूलो बाढी आइपुग्यो। उनले टहरामा रहेको परिवारलाई सम्हाल्न पाएनन्। बाढीले उनकै आँखा अगाडि पूरै टहरो र त्यसभित्रका परिवार बगाइदियो।

बुढाथोकी आफैं पनि बाढीको चपेटामा परे। घर भत्किँदा उनी भित्रै चेपिए। ज्यान जोगाउन उनले आफूले बनाएको बारको डन्डी समाते। भेलको वेग केही तलतिर सरेपछि उनी जसोतसो बाहिर निस्किए। त्यतिबेला उनको शरीरबाट रगत बगिरहेको थियो। घाइते अवस्थामै उनी माथितिर उक्लिए।

पछि टिमुरेमै काम गर्ने साथीहरूले उनलाई उद्धार गरे। हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइयो। बाढी आउँदा वरिपरि मानिसहरू नभएका होइनन्, तर घटना यति छिटो भयो कि कसैले कसैलाई बचाउन सक्ने अवस्था रहेन। बाढीको बाटोबाट टाढा रहेर भाग्न सफल भएकाहरू बाँच्न सक्ने सम्भावना रहेको बुढाथोकीले बताए। तर आफ्नो घरभित्र रहेका पाँच सदस्य फर्केर आउनेमा उनको विश्वास छैन।

उपचाररत बुढाथोकीका लागि अहिले शारीरिक घाउभन्दा मानसिक पीडा गहिरो छ। पत्नी र चार सन्तानको अवस्थाबारे कुनै अत्तोपत्तो नभएको उनले बताए। विगत पाँच वर्षको मेहनतले बनाएको घर, परिवार र दशैं–तिहारमा घर फर्कने सपना — सबै बाढीले बगाइदिएको उनको भनाइ छ।