भोटेकोशी नदीमा बाढी आएपछि बुबा बेपत्ता भएको २७ दिन पुगिसक्दा पनि सप्तरीको राजविराज नगरपालिका–१६, बोरियाका १३ वर्षीय शोभाकुमार सदा र उनकी सात वर्षीया बहिनी बिभाको दैनिकी अन्योलमा परेको छ । कुनै सुराक नपाएपछि उनीहरू चुहिने टिनको छानोमुनि दिन कटाउँदै छन्, जहाँ वर्षा सुरु हुनेबित्तिकै बस्न र पकाउनसमेत हम्मेहम्मे पर्छ । घरमा आम्दानीको कुनै बाटो छैन र बुबा फर्किने कुनै सूचना पनि छैन ।
परिवारमाथि यसअघि नै आमा फुलियादेवीको निधनले गहिरो चोट पुर्याएको थियो । क्यान्सरबाट पीडित उनको गत कात्तिकमा ४२ वर्षकै उमेरमा ज्यान गयो । उपचारका लागि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, तर त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकहरूले भरतपुर क्यान्सर अस्पताल लैजान सुझाएका थिए । थप उपचारका लागि रकम जोहो गर्न नसकिएपछि उनको घरमै मृत्यु भयो ।
त्यतिबेलासम्म बुबासँग भएको र ऋण गरेर जुटाइएको एक लाख रुपैयाँभन्दा बढी उपचार तथा आउजाउमै सकिएको थियो । भरतपुर पुर्याउन थप ऋण खोज्दा पनि पाइएन । शोभाकुमारका अनुसार बुबाले लिएको ६९ हजार रुपैयाँ ऋण अझै तिर्न बाँकी छ । अहिले माग्न आउने कोही नभए पनि तिर्नुपर्ने दायित्व भने उनीहरूकै टाउकोमा छ ।
किन पुगेका थिए रसुवा
आमाको उपचारमा लागेको ऋण तिर्न र घरखर्च जुटाउन बेचन गत जेठमा रसुवा पुगेका थिए । ४५ वर्षीय उनी त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा डन्डी बाँध्ने मजदुरका रूपमा कार्यरत थिए । बाढीले आयोजनास्थलमा उत्पात मच्चाउँदा शोभाकुमार भने काठमाडौंमा थिए । बुबाको मात्र कमाइले ऋण तिर्न गाह्रो देखेपछि उनी गाउँलेसँग मजदुरी गर्न काठमाडौं पुगेका थिए । बुबा कार्यरत आयोजना बाढीले बगाएको खबर पाएपछि उनले पटक–पटक फोन डायल गरे, तर फोन लागेन ।
बुबा बेपत्ता भएपछि बहिनीको जिम्मेवारी पनि शोभाकुमारमाथि आइपरेको छ । उनका दुई दिदी विवाह गरेर गइसकेका छन् । दिदी हीरा र किरण पालैपालो बोरियामै बसेर भाइबहिनीको हेरचाह गरिरहेका छन् । हीराका अनुसार आफूसँगै लैजान सक्ने अवस्था छैन र केही दिन बसेर ससुराली फर्किनुपर्ने बाध्यता पनि छ । आर्थिक रूपमा आफूहरू पनि कमजोर रहेको उनको भनाइ छ ।
अन्य दुई गाउँले पनि सम्पर्कविहीन
बेचनसँगै मजदुरी गर्न रसुवा पुगेका सोही टोलका दुई जना पनि अझै सम्पर्कमा आएका छैनन् । २८ वर्षीय सुरेन्द्र सदा र ३० वर्षीय शिवकुमार सदा पनि आयोजनास्थल पुगेका थिए । २७ दिनसम्म कुनै खोजखबर नपाउँदा परिवारका सदस्य अस्पतालदेखि रसुवासम्म भौतारिँदै हिँडेका छन् ।
सुरेन्द्रका दाजु अरुण सदाका अनुसार खोजीका क्रममा उनी रसुवाको बेत्रावतीसम्म पुगे, तर त्रिशूली–३ ‘बी’ आयोजनासम्म भने पुग्न सकिएन । आसपास तीन–चार दिन खोज्दा पनि भेटिएनन् र निराश भएर फर्कनुपर्यो । बेपत्ता तीनै जनाका परिवारले अस्पताल पुगेर डीएनए परीक्षणका लागि रगत दिइसकेका छन् । आफैं खोजेर शव पहिचान गर्ने अवस्था नरहेकाले डीएनएको नतिजा कुरेर बस्नुपरेको उनले बताए । यस विषयमा सरकारले तदारुकताका साथ काम गर्नुपर्ने उनको भनाइ छ ।







