१४ असोज, काठमाडौं । भोटेकोशी नदीको बाढीले घरबार र आफन्त गुमाएका रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुबेसीका विस्थापित अहिले काठमाडौंको स्वयम्भूस्थित एलो गुम्बामा आश्रय लिएर बसिरहेका छन्। स्याफ्रुबेसीका सिङ्गी धिन्डुप तामाङ (५८) गुम्बामा आएको एक महिना नाघिसक्दा पनि आफ्नो गाउँ फर्किने बाटो नदेखिएको बताउँछन्।
उनका अनुसार स्याफ्रुबेसीका १३७ घरधुरी पूर्ण रूपमा विस्थापित भएका छन्। तीमध्ये करिब तीन सय जना गुम्बामा बस्दै आएका छन्। बाढीमा परी १२६ जनाको मृत्यु भएको र ५२० जना जीवित रहेको उनले जानकारी दिए।
बाँचेकालाई सरकारले उद्धार गरी धुन्चे हुँदै नुवाकोटको बटार पुर्याएको थियो। त्यसपछि रसुवा समाजको सहयोगमा उनीहरू काठमाडौंको गुम्बामा आश्रय लिन पुगेको उनले बताए। हाल गुम्बामा बिहान–बेलुकाको खाना र सामूहिक बसाइको व्यवस्था छ।
बाढीमा आफन्त गुमाउनेको संख्या ठूलो छ। सिङ्गीले बुहारी गुमाएका छन्। त्यहाँ बस्नेमध्ये आफन्त नगुमाउने कोही नभएको उनले सुनाए।
गुम्बाको आश्रय, अनिश्चित बसाइ
गुम्बाले खाट र बिस्तराको व्यवस्था गरिदिएको छ। सुरुमा भुइँमा सुत्नुपरे पनि पछि आवश्यक सामग्री जुटाइएको र अन्य पक्षबाट पनि सहयोग प्राप्त भएको सिङ्गीले बताए। तर गुम्बामा कति दिन बस्न पाइने भन्ने टुंगो नभएको उनको भनाइ छ। एक महिना होला वा दुई महिना पनि बस्नुपर्ने अवस्था आउन सक्ने उनले जनाए।
बाढीले बजार र गाउँको ठूलो हिस्सा बगाएको छ। तीनवटा गाउँ नै सखाप भएका छन् भने गाउँपालिका र प्रहरी चौकी रहेको क्षेत्र बगरमा परिणत भएको छ। घरबाट पैसा र मोबाइलसमेत निकाल्न नपाइएको उनले सुनाए।
थातथलो फर्किने चाहना
स्याफ्रुबाहेक अन्यत्र जग्गा–जमिन नभएकाले विस्थापितहरू आफ्नै ठाउँ फर्किन चाहन्छन्। पहिलो चरणमा अस्थायी बास र त्यसपछि स्थायी घर पाउनुपर्ने उनीहरूको माग छ। राज्यले स्याफ्रुमै अस्थायी छाप्रा बनाएर बस्न दिने र त्यसपछि स्थायी रूपमा चार कोठासम्मको घर बनाइदिने व्यवस्था गरिदिए हुने सिङ्गीको भनाइ छ। ठूलो परिवारका लागि चार कोठासम्मको घर आवश्यक पर्ने उनले बताए।
आस्था, भूगोल, संस्कृति र आफन्त सबै स्याफ्रुमै भएकाले अन्यत्र बस्न नचाहेको उनले स्पष्ट पारे। राज्यले निःशुल्क तथा निर्ब्याजी लगानी उपलब्ध गराए व्यवसाय गरी कमाइबाट त्यो रकम फिर्ता गर्न आफूहरू इच्छुक रहेको पनि उनले जनाए।
सामूहिक घेवा र आर्थिक समस्या
बाढीमा परेका मानिस भेटिने आशा नरहेपछि बौद्ध परम्पराअनुसार उनीहरूले सामूहिक घेवा सुरु गरेका छन्। घर नभएका कारण छुट्टाछुट्टै पूजापाठ गर्ने अवस्था नरहेको उनीहरू बताउँछन्।
बौद्ध परम्पराअनुसार सात–सात दिनमा पूजा गर्नुपर्ने र ४९ दिनमा ठूलो घेवा गर्नुपर्ने हुन्छ। घेवा नसकिएसम्म अन्यत्र हिँड्न तथा अर्को ठाउँमा जान नहुने भएकाले पनि उनीहरू एकै ठाउँमा बस्न बाध्य छन्। एलो गुम्बामा ७६ जनाको सामूहिक काजकर्म भइरहेको र अन्य गुम्बामा पनि सात वा १० जनाको समूहमा यस्तो कार्यक्रम चलिरहेको सिङ्गीले जानकारी दिए।
घेवा गर्न बत्ती बाल्न, खाना खुवाउन र लामालाई दान गर्न खर्च लाग्ने भएकाले आर्थिक समस्या परेको उनीहरूको गुनासो छ। बाढीले सुन, पैसा, चाँदी, हिरा र घर सबै लगेको तथा ज्यान मात्र बाँकी रहेको सिङ्गीले बताए।
राज्यले महिनामा १५ हजार रुपैयाँ दिने भनी परिचयपत्र बनाइदिए पनि रकम हात नपरेको पीडितहरूको गुनासो छ। सबैभन्दा छिटो मृतकको पहिचान गरी घोषणा गरेर राहत वितरण गर्नुपर्ने उनले माग गरे।
होल्डिङ सेन्टरको उकुसमुकुस
स्याफ्रुकै प्रतिमा लामा (४०) दृष्टिविहीन छिन्। सामूहिक रूपमा बस्नुपर्दा आफ्नो मानसिक अवस्था बिग्रँदै गएको उनले बताइन्। छुट्टै बसोबासको आवश्यकता रहेको र सरकारले आर्थिक सहयोग गरिदिए कोठा खोजेर सर्न सकिने उनको भनाइ छ।
कामी ग्याल्पो तामाङ (६५) ले पनि भीडभाड र हल्लाका कारण निद्रा नपरेको गुनासो गरे। सरकारले जहाँ भए पनि सानो जग्गा उपलब्ध गराई राखिदिनुपर्ने उनको माग छ।
होल्डिङ सेन्टरमा चार–पाँच जना एउटै ठाउँमा सुत्नुपर्ने बाध्यता छ। कसैको खुट्टा फ्र्याक्चर भएको छ, कसैलाई रुघाखोकी लागेको छ भने अरू पनि बिरामी परेका छन्। काठमाडौंमा कोठा खोज्न जाँदा आफूहरू को हुन् भनी सोधिने र कोठा नभएको जवाफ पाइने उनीहरूको अनुभव छ।
आफूहरू शरणार्थीजस्तै भएर बस्नुपरेको गुनासो कार्सङ तामाङले गरे। कसैसँग कागजपत्र नभएको र कति दिन यसरी बस्नुपर्ने हो भन्ने अन्योल रहेको उनले बताए। घेवा सकिएपछि अस्थायी बसोबास पाए होल्डिङ सेन्टर छोड्न चाहेको उनीहरूको भनाइ छ।
एकीकृत बसोबासको आशा, तथ्यांकको गुनासो
स्याफ्रुवासी सबैलाई एकै ठाउँमा एकीकृत बसोबासको व्यवस्था हुनुपर्ने चाहना छ। धर्म, संस्कृति र परम्परा जोगाउन पनि यस्तो व्यवस्था आवश्यक रहेको प्रतिमाले बताइन्।
छिरिङ तेन्जिङ लामाले स्याफ्रुको माटो र जमिनप्रति आफूहरूको आध्यात्मिक लगाव रहेको उल्लेख गर्दै सोही क्षेत्रको सुरक्षित स्थानमा बसोबास हुनुपर्ने माग गरे। बाढीले गुम्बा र ढुंगामा कुँदिएका अक्षरसहितको सांस्कृतिक सम्पदा बगाएको र तामाङ समुदायको पहिचान झल्काउने संरचना विलिन भएकाले त्यसको पुनर्स्थापना हुनुपर्ने उनको भनाइ छ।
होल्डिङ सेन्टरमा कतिपयले घरधुरीको तथ्यांकमा आफ्नो नाम छुटेको गुनासो गरेका छन्। तीमध्येका कार्सङ तामाङ गाइडको काम गर्छन् र गत १० गते तिब्बतको केरुङमा थिए। फर्किन ढिला हुँदा घरधुरी संख्यामा उनको नाम छुटेको हो। करिब ३०–४० घरधुरीको तथ्यांक र डाटा नै छुटेको उनको दाबी छ। नाकामा एक–डेढ सय गाइड साथी गुमाएको र रसुवा तथा सिन्धुपाल्चोकका गाइड साथी अझै सम्पर्कमा नआएको उनले बताए। आफू भने नाका कटेकै कारण जोगिएको उनले जनाए।







