मुख्य सामग्रीमा जानुहोस्

गोसाइकुण्ड बाढी : पालिका उपाध्यक्ष प्रतिमा तामाङसहित वडा ५ का अध्यक्ष बेपत्ता

रसुवाको गोसाइकुण्ड गाउँपालिकामा बाढीले ठूलो क्षति पुर्‍याएको छ। पालिका उपाध्यक्ष र एक वडाध्यक्षसहित कैयौं मानिस बेपत्ता भएका छन्। बाढीले पुल बगाएपछि रसुवाको काठमाडौंसँगको सम्पर्क टुटेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
गोसाइकुण्ड बाढी : पालिका उपाध्यक्ष प्रतिमा तामाङसहित वडा ५ का अध्यक्ष बेपत्ता
Online Khabar

काठमाडौं, १० भदौ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा आएको बाढीमा परी पालिका उपाध्यक्ष प्रतिमा तामाङ बेपत्ता भएकी छन्। स्याफ्रुबेसी क्षेत्र बाढीले डुबाउँदा उनी सम्पर्कविहीन भएको स्थानीय प्रेम तामाङले बताएका छन्।

बाढीको प्रभाव पालिका उपाध्यक्षमा मात्र सीमित छैन। गोसाइकुण्ड–५ का वडाध्यक्ष दावा मिङमर तामाङ पनि बेपत्ता भएका छन्। उनी स्याफ्रुबेसीकै बासिन्दा हुन्। एमाले नेता समेत रहेका प्रेम तामाङका अनुसार माथि रसुवागढी र टिमुरे क्षेत्रमा धेरै मजदुर हताहत भएका छन्। त्यस्तै, खोलाकिनारका बस्तीका मानिस पनि ठूलो संख्यामा बेपत्ता छन्।

स्याफ्रुबेसी, टिमुरे, मैलुङलगायतका बस्ती बाढीले बगाएको छ। खोला किनारमा रहेका जलविद्युत् आयोजनामा कार्यरत मजदुरको समेत हताहत भएको प्रेम तामाङले सुनाए। बाँचेकाहरूका अनुसार धेरै मानिस हताहत भएको उनको भनाइ छ।

उद्धारमा चुनौती

बाढीले पुलहरू बगाएपछि रसुवाको काठमाडौंसँगको सडक सम्पर्क पूर्ण रूपमा टुटेको छ। जसका कारण घाइते र बिरामीलाई एम्बुलेन्सबाट ल्याउन सम्भव नभएको प्रेम तामाङले बताए। घाइतेहरूलाई बेत्रावती र कालिकास्थानमा राखिएको छ।

उद्धारका लागि हेलिकप्टर पठाउन करिब चार÷पाँच घण्टादेखि आग्रह गरिए पनि सुनुवाइ नभएको उनले गुनासो गरे। अहिले एक÷दुई हेलिकप्टरले मात्र उद्धारको प्रयास गरिरहेको र त्यो पर्याप्त नरहेको उनको भनाइ छ।

घाइतेलाई छिटो उद्धार गरेर काठमाडौंका अस्पताल पुर्‍याउन सके धेरैको ज्यान बच्ने प्रेम तामाङले बताए। तर, बर्खाको समयमा जङ्गल र भिरालो भूभागमा चिप्लने तथा भासिने जोखिम बढेकाले उद्धार थप कठिन बनेको छ। बाँचेकाहरूका लागि अडिने र टेक्ने ठाउँसमेत नरहेको र समथर भूभाग बाढीले बगाएको उनले जानकारी दिए।