मुख्य सामग्रीमा जानुहोस्

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उपत्यका बाहिर एलपी ग्यास बोतलिङ

कृष्णभिरमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि एलपी ग्यास बोकेका बुलेट काठमाडौं प्रवेश गर्न सकेका छैनन्। उपत्यका र छिमेकी जिल्लाका १६ उद्योगले राजधानी बाहिरका उद्योगसँग समन्वय गर्दै सिलिन्डर बोतलिङ गर्न थालेका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उपत्यका बाहिर एलपी ग्यास बोतलिङ
Online Khabar

चितवन, १६ भदौ । पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएर आवागमन अवरुद्ध भएपछि उपत्यका र छिमेकी जिल्लाका एलपी ग्यास उद्योगले राजधानी बाहिरका उद्योगमा पुगेर बोतलिङ गर्न थालेका छन्। ग्यास बोकेका बुलेटहरू कृष्णभिर हुँदै काठमाडौं प्रवेश गर्न नसक्ने भएपछि उद्योगहरूले उपत्यका बाहिरै ग्यास भरेर बजारसम्म पुर्‍याउने प्रबन्ध मिलाएका हुन्।

नेपाल आयल निगमले राजधानी बाहिर ग्यास भर्न दिएको अनुमतिअनुसार उपत्यका र छिमेकी जिल्लाका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरेर ग्यास भर्ने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले यो जानकारी दिएका हुन्।

उपत्यका र छिमेकी जिल्लामा मात्रै देशको कुल खपतको ४० प्रतिशतभन्दा बढी एलपी ग्यास आवश्यक पर्ने चन्दको भनाइ छ।

बाबा ग्यासका सञ्चालक तथा संघका सदस्य विमल कालाखेतीका अनुसार कृष्णभीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौं लगिनेछ। बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासीका उद्योगमा भरिएको ग्यास त्रिभुवन राजपथसहितका सडक हुँदै राजधानी पुर्‍याइने उनले बताए।

बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा अभाव नहुने र उपभोक्ताले ग्यासको जगेडा राख्नुपर्ने अवस्था नरहेको कालाखेतीको सुझाव छ।

उनका अनुसार बाबामा श्री ग्यास, साइबाबामा श्रीकृष्ण, जानकीमा श्रीराम, नेपाल गण्डकीमा नेपाल ग्यास र साहारामा एभरेष्ट तथा सुगमले बोतलिङ सुरु गरिसकेका छन्। यसबाहेक अन्य उद्योगले पनि राजधानी बाहिरका वा अन्य उद्योगसँग समन्वय गरेर बोतलिङ सुरु गरेको उनले बताए।