काठमाडौं सुन्धारास्थित सिभिल मलमा फिक्स रेट समर सेल सञ्चालनमा आएको छ। जुत्ता, चप्पल, ब्याग, चस्मालगायत सामग्री तोकिएकै मूल्यमा बिक्री गर्ने गरी सो सेल सुरु गरिएको हो। यसको आयोजना सिभिल व्यापार संघले गरेको छ।
सेल संयोजक सरोज कुमार अधिकारीका अनुसार स्टलहरूले आफ्ना सामानअनुसार फिक्स रेट राखेका छन्। मूल्य तोकिएकाले ग्राहकलाई बार्गेनिङ गर्नुपर्ने अवस्था नहुने उनको भनाइ छ। सीमित बजेटमा सामान खरिद गर्न चाहने उपभोक्तालाई लक्षित गर्दै मलभित्रका पसलहरूले सेलको आयोजना गरेको अधिकारीले जानकारी दिए।
सेलमा सहभागी हुन इच्छुक पसललाई आफ्ना सामान सातदेखि १४ दिनसम्म राख्न मिल्ने व्यवस्था गरिएको छ। यसपटक मलभित्रका पसलहरूको अगाडि र मलको तल्लो तलामा गरी ४४ स्टल राखिएका छन्।
यो वर्षको समर सेल भदौ १४ गतेदेखि सुरु भएको हो र भदौ २७ गतेसम्म चल्नेछ। संघले हरेक वर्ष दुई पटक समर र विन्टर सेल आयोजना गर्दै आएको अधिकारीले बताए।







