रसुवाको बेत्रावती प्रहरी चौकीमा कार्यरत असई रामकाजी पौडेलको शव चितवनमा भेटिएको छ। भोटेकोशी बाढीका क्रममा बेपत्ता भएका उनको शव फेला परेको प्रहरीले जनाएको छ।
गत भदौ १० गते बाढी आएपछि पौडेल बेपत्ता भएका थिए। चितवनमा भेटिएको शव पौडेलका आफन्तले सनाखत गरेर बुझेको प्रहरीले बताएको छ।
बाढी आउँदा उनीसँगै रहेका केही प्रहरी भने भागेर ज्यान जोगाउन सफल भएका थिए। सोही चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार सन्तोष रिजाल बाढीबारे सचेत गराउँदै माइकिङ गर्ने क्रममा भागेर बाँचेका थिए।
रिजालका अनुसार असई पौडेल बाढीमा परेका थिए। उनको शव भेटिएसँगै घटनाबारे थप जानकारी दिन प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको छ।







