१२ भदौ, बुटवल । रसुवालगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद् प्रभावित नागरिकका लागि सो रकम कोषमा उपलब्ध गराइने जानकारी दिएका हुन्। त्यस्तै, लुम्बिनी प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने नागरिक विपद्मा परी मृत्यु भएमा उनीहरूका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत दिने व्यवस्था गरिएको छ।
बाढी राहतमा थप सहयोग जुटाउन प्रदेश सरकारले उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आ–आफ्नो ठाउँबाट राहत तथा सहयोग गर्न अपिलसमेत गरेको छ।
रसुवामा आएको बाढीपछि लुम्बिनी प्रदेशका १८१ जना व्यक्ति अझैसम्म सम्पर्कविहीन रहेको प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले बताए। जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि प्रदेश सरकारले पहल गरिरहेको जनाइएको छ।
बाढीको बहावसँगै बगेर पश्चिम नवलपरासीसम्म आइपुगेका शवहरूको व्यवस्थापनमा समेत प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गरिरहेको बताइएको छ।







