मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीः मधेशमा शोकको लहर, सप्तरीका ४८ परिवार प्रभावित

भोटेकोशी बाढीको असर प्रत्यक्ष प्रभावित जिल्लामा सीमित रहेन। सप्तरीका ४८ परिवार प्रभावित भएका छन् भने सर्लाही, महोत्तरी र धनुषाका दर्जनौं इन्जिनियर तथा श्रमिक सम्पर्कविहीन छन्।

विश्वपत्र संवाददाता

· ३ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भोटेकोशी बाढीः मधेशमा शोकको लहर, सप्तरीका ४८ परिवार प्रभावित
Online Khabar

भदौ १० गते बिहान भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीमा नेपालीसहित २६ देशका पर्यटक समस्यामा परेका थिए। यसको असर मधेशका थुप्रै परिवारसम्म पुगेको छ।

बाढीको कहरपछि सप्तरीमा मात्रै ४८ परिवार प्रभावित बनेका छन्। हिमाली भेगका जलविद्युत् आयोजना, निर्माणस्थल, विद्यालय तथा कार्यालयहरूमा कार्यरत मधेशका इन्जिनियर, प्राविधिक, कर्मचारी र मजदुरमध्ये धेरै सम्पर्कविहीन छन्।

तीनै दिनदेखि आफ्ना भाइको खोजीमा भौंतारिएका मधेश आमसञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष एवं सप्तरीका पत्रकार श्यामसुन्दर यादवले भाइको खोजीका लागि सबैमा अपिल गरेका छन्। उनका ३६ वर्षीय भाइ इन्जिनियर अजय नुवाकोटको उत्तरगया–५ स्थित नीलकण्ठमा कार्यरत थिए। सप्तरीको विष्णुपुर गाउँपालिका–१, खुरहुरियाका अजय बेत्रावतीमा डेरा गरी बस्दै आएका थिए। भदौ १० गते बिहान करिब साढे ७ बजे उनीसँग फोनमा कुरा भएको श्यामले बताएका छन्। त्यसको केहीबेरमै बाढी आएपछि उनी सम्पर्कविहीन भएका हुन्। पछि १० देखि १२ किलोमिटर क्षेत्रमा फोनको लोकेसन देखिए पनि त्यसपछि कुनै अत्तोपत्तो नभएको उनको भनाइ छ।

बेपत्ता १६२, खोजी जारी

प्रहरीका अनुसार भदौ १४ गते आइतबारसम्म बाढीमा परी १६२ जना सम्पर्कविहीन भएका छन्। तीमध्ये सर्लाहीका १६ र महोत्तरीका १० जना रहेको बताइएको छ। नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरले बेपत्ताका सबै परिवार शोकमा डुबेको र स्थानीय प्रशासनमाथि खोजीका लागि ठूलो दबाब रहेको जानकारी दिए। याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका उपप्राध्यापक जितेन्द्र झाले महोत्तरीका १० जना सम्पर्कबाहिर रहेको बताएका छन्।

धनुषाकी पूजा साहका पति ३० वर्षीय इन्जिनियर अजय सिंह पनि बाढीमा बेपत्ता छन्। उनी बाढी प्रभावित मैलुङमा कार्यरत थिए। पूजाले आफ्ना पति रहेको क्षेत्रमा उद्धार टोली नगएको आरोप लगाएकी छन्। धनुषाका अजयसहित ६ जना अझै बेपत्ता रहेको बताइएको छ।

बाढीले ७४८ मेगावाट जलविद्युत् उत्पादन प्रभावित गरेको छ भने दर्जनौं पुल ध्वस्त भएका छन्। सयौं किलोमिटर सडक क्षतिग्रस्त भएको जानकारहरूले बताएका छन्। आधा घण्टाभित्र त्रिशूलीको जलसतह ९ मिटरले बढेको दाबी गरिएको छ।

सञ्चार क्षेत्रमा पनि क्षति

बाढीले नुवाकोटका अधिकांश स्थानीय सञ्चारमाध्यमलाई प्रभावित तुल्याएको छ। स्थानीय रेडियोहरू प्रायः सबै अवरुद्ध भएका छन्। पत्रकार राजकुमार नेपाली, टेकबहादुर थामी, शेखर ढुङ्गाना (दम्पती), केशव न्यौपाने, सुरेश सिम्खडा लगायत अहिलेसम्म नभेटिएको जानकारी दिइएको छ। पत्रकार किरण अधिकारीको घर र कार्यालय बगाएको छ भने पत्रकार बाबुराम लामिछानेको खेतबारी बाढीले बगाएको छ। निराजन र विद्या राजपुतका अभिभावक तथा पत्रकार लोग्सरी कुँवरका आफन्त पनि सम्पर्कविहीन रहेको बताइएको छ।

हिमाल र मधेशबीचको सांस्कृतिक निकटता

यसपटकको बाढीले हिमाल र मधेशबीचको पुरानो सामाजिक–सांस्कृतिक सम्बन्ध पनि उजागर गरेको छ। त्रिशूलीको बगरमा मिल्किएको मिथिला पेन्टिङको फ्रेम देखिएको बीबीसी हिन्दीको भिडियो रिपोर्टमा उल्लेख छ। उपप्राध्यापक झाका अनुसार त्यो पेन्टिङ कुनै मिथिलावासीले ल्याएको वा कसैले उपहार दिएको हुन सक्छ।

नुवाकोटको विदुरस्थित मैथली ब्यारेक आजभन्दा करिब ४०० वर्षअघि मैथिल ब्राह्मणहरूको बसोबास रहेको मैथिलटार भनेर चिनिन्थ्यो। स्थानीय जानकारहरूका अनुसार अनिकालका बेला भक्तपुरका राजाले मिथिलाबाट झा र मिश्र पण्डितहरू बोलाएर महायज्ञ गरेपछि उनीहरू त्यहीं बसोबास गर्न थालेका थिए। माछा र आँप खाने उनीहरूका लागि नुवाकोटको हावापानी उपयुक्त भएको भनाइ छ। कालान्तरमा त्यही बस्ती मैथिलटार बनेको विश्वास गरिन्छ। अहिले यो ठाउँ विदुर नगरपालिका–३ र ४ मा पर्छ। सरकारले २०१९ सालमा त्यहाँ सेनाको ब्यारेक राखेको थियो, जुन अहिले नेपाली सेनाको तालिम केन्द्रका रूपमा सञ्चालित छ।

मधेशका गाउँगाउँमा बेपत्ता आफन्तको खोजी र राहतको पर्खाइ जारी छ। सप्तरीका अग्रज पत्रकार मुरलीप्रसाद यादवले यसपटकको बाढीले रसुवा र नुवाकोटमा मधेशीहरूको उपस्थिति र सामाजिक जुडावलाई स्पष्ट पारेको बताएका छन्।