मलेसियामा जारी एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको फाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई) सँग खेल्नेछ। क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने उपाधि भिडन्त बिहान ७ः१५ बजे सुरु हुनेछ।
दुवै टोली यस प्रतियोगिताको दोस्रोपटक उपाधि जित्ने तयारीमा छन्। सन् २०२३ मा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई सात विकेटले पराजित गर्दै पहिलो उपाधि हात पारेको थियो। युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई हराउँदै उपाधि जितेको थियो।
यसपटकको फाइनलको महत्व दुवै टोलीका लागि बढी छ, किनकि उपाधि जित्ने टोलीले मात्र एसिया कपमा स्थान बनाउनेछ।
कस्तो रह्यो दुई टोलीको यात्रा
जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेल खेलेको छ, जसमा चारमा जित र एकमा हार भोगेको छ। युएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनलसम्म पुगेको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन्। त्यसमध्ये नेपालले ११ र युएईले आठ खेल जितेको छ। पछिल्ला पाँच भिडन्तमध्ये तीनमा नेपाल विजयी भएको छ।
नेपालले युएईसँग पछिल्लोपटक गत मेमा आइसिसी विश्वकप लिग-२ अन्तर्गत प्रतिस्पर्धा गरेको थियो र त्यसअन्तर्गतका दुवै खेलमा जित निकालेको थियो।







