१० भदौ, काठमाडौं । देशभरि मनसुनी वायुको प्रभाव कायम रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज धेरै प्रदेशमा बदली हुने तथा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका हिमाली र पहाडी भूभागमा अधिकांश स्थानमा बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली देखिएको छ भने अन्य तराई भूभागमा आंशिक बादल छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।
आज दिउँसो देशभरको आकाश सामान्यतया बादलले ढाकिनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान छ । मधेश प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही ठाउँमा पनि यस्तै वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने छ ।
रातिको मौसमको पूर्वानुमान पनि उस्तै रहेको छ । राति देशभर बदली रहने महाशाखाले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
भारी वर्षा हुने सम्भावना भएका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम पनि उत्तिकै रहेको महाशाखाले चेतावनी दिएको छ । वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले सम्बद्ध सबैलाई आवश्यक सतर्कता अपनाउन र मौसम महाशाखाका सूचनासँग अद्यावधिक रहन आग्रह गरिएको छ ।







