मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीको अद्यावधिक विवरण : एक हजार ३५६ शव फेला, चार हजार ९९४ सम्पर्कविहीन

भोटेकोशी बाढीपछि शव भेटिने क्रम जारी छ । प्राधिकरणका अनुसार हालसम्म एक हजार ३५६ शव भेटिएका छन् भने चार हजार ९९४ जना सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रबाट १३ हजार ३९६ जनाको उद्धार गरिसकिएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur
भोटेकोशी बाढीको अद्यावधिक विवरण : एक हजार ३५६ शव फेला, चार हजार ९९४ सम्पर्कविहीन
eKantipur

भोटेकोशी बाढीमा परी ज्यान गुमाउने मध्येबाट अहिलेसम्म एक हजार ३५६ जनाको शव भेटिएको छ । सोमबार साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो जानकारी दिएको हो ।

प्राधिकरणको तथ्याङ्कअनुसार बाढीपछि अझै करिब चार हजार ९९४ जना सम्पर्कविहीन छन् । भेटिएका शवमध्ये ९८ वटाको मात्र सनाखत भएको छ र ती शव परिवारलाई बुझाइसकिएको छ ।

जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा ३६३ शव भेटिएको विवरणमा उल्लेख छ । यसैगरी नवलपरासी (पूर्व) मा २२३, नवलपरासी (पश्चिम) मा २२१, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन् ।

बाढीपछिको खोजी तथा उद्धारमा हालसम्म १३ हजार ३९६ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ । उद्धार र खोजीका लागि प्रहरी, सेना र सशस्त्र प्रहरी गरी २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढीपछिको उपचारतर्फ छ हजार ६७६ घाइतेको उपचार भइसकेको छ । हाल ३२७ जना विभिन्न १० अस्पतालमा उपचाररत रहेका छन् ।

त्यस्तै, ३९ वटा होल्डिङ सेन्टरमा तीन हजार ५३३ जनाले आश्रय लिइरहेका छन् । तीमध्ये नुवाकोटमा दुई हजार ६५१, रसुवामा ६६९ र धादिङमा २१३ जना रहेको प्राधिकरणले बताएको छ ।

यसैबीच, बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा १३औँ दिनको तिथिमा सोमबार साँझ काठमाडौंको बसन्तपुरमा दीप प्रज्ज्वलन गरिएको छ ।