काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै काठमाडौं उपत्यकामा यात्रा गर्नेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले श्रावण २ गते र ३ गते अति भारी वर्षाको सम्भावना रहेको सूचना जारी गरेपछि प्रशासनले यो अनुरोध गरेको हो। कार्यालयका अनुसार उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक र निजी सवारी साधनका चालक, सहचालक र यात्रुहरूले विशेष ध्यान दिनुपर्नेछ।
प्रशासनले सकेसम्म रातिको समयमा यात्रा नगर्न, अत्यावश्यक भएमा मौसमी विवरण अद्यावधिक गर्न र सडकको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्वजानकारी लिएर मात्र सवारी चलाउन सुझाव दिएको छ।

