आरम्भ संस्कार विद्यालयले राष्ट्रिय अन्तरविद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत यो प्रतियोगिता भदौ ३१ गतेदेखि सुरु हुने जानकारी दिएको हो ।
प्रतियोगितामा सहभागी खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । आरम्भका प्रधानाध्यापक नरेशप्रसाद श्रेष्ठका अनुसार ब्वाइज र गर्ल्सतर्फको टिम स्पर्धा तथा यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गर्ल्स सिंगल्स खेलाइनेछन् ।
सिंगल्सतर्फ हरेक स्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडीले क्रमशः ६ हजार, ३ हजार र १५ सय रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा चारदेखि पाँच सय खेलाडी सहभागी हुने टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले बताए ।
पत्रकार सम्मेलनमा प्रधानाध्यापक श्रेष्ठले विभिन्न खेलका १६ खेलाडीलाई विद्यालयले शतप्रतिशत छात्रवृत्ति प्रदान गरेको पनि जानकारी दिए । उनका अनुसार टेबलटेनिसका पाँच, तेक्वान्दोका तीन, फुटबलका तीन, बास्केटबलका तीन, ब्याडमिन्टनका एक र क्रिकेटका एक खेलाडी आरम्भमा पूर्ण छात्रवृत्तिमा अध्ययनरत छन् ।
प्रतियोगिता २ असोजसम्म चल्नेछ भने खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछन् ।







