भरतपुर फुटबल क्लबको आयोजनामा हुने हनामी चितवन गोल्डकपको तेस्रो संस्करण भदौ २७ गतेदेखि सुरु हुने भएको छ। आयोजकका अनुसार असोज ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विदेशी टोलीसहित आठ टोलीले सहभागिता जनाउने छन्।
सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक ध्रुव भुषालले विजेताले ट्रफीसहित रु ६ लाख नगद पुरस्कार पाउने बताए। उपविजेताका लागि भने रु ३ लाख नगद पुरस्कार राखिएको छ। प्रतियोगिताका सबै खेल भरतपुरस्थित प्रहरी तालिम केन्द्रको खेल मैदानमा हुनेछन्।
उद्घाटन खेलमा आयोजक भरतपुर फुटबल क्लब र भुटानको पक्षम फुटबल क्लब आमनेसामने हुनेछन्। प्रतियोगितामा मलेसियाको एनपेनाङ फुटबल क्लब, भुटानको पक्षम फुटबल क्लब, सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब, ललितपुरको सातदोबाटो युवा क्लब, इलामको रेडहर्ष, रूपन्देहीको देवदह ब्वाइज क्लब, कालिकाको सूर्यपुर फुटबल क्लब र आयोजक भरतपुर फुटबल क्लब सहभागी हुनेछन्।
प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले रु २० हजार र विधागत उत्कृष्ट खेलाडीले रु १० हजार नगद पुरस्कार पाउनेछन्। त्यस्तै हरेक खेलको प्लेयर अफ द म्याचलाई रु ५ हजार बराबरको पुरस्कार दिने आयोजकको तयारी छ। प्रारम्भिक चरण र सेमिफाइनलका खेल हेर्न एक सय रुपैयाँ र फाइनल खेलका लागि दुई सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।







