स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएका खेलमा रियल सोसिडाड र रियल बेटिसले जित निकालेका छन्। घरेलु मैदानमा भएको खेलमा सोसिडाडले डेपोर्टिभो ला कोरुनालाई ३-२ ले हरायो भने बेटिसले ओसासुनाविरुद्ध ५-२ को फराकिलो जित दर्ता गर्यो।
सोसिडाडका लागि मार्टिनले २९औँ, जाखार्यानले ३४औँ र गुएदेसले ५४औँ मिनेटमा गोल गरे। डेपोर्टिभो ला कोरुनाका कारेनोले ६१औँ तथा क्युबासले ६९औँ मिनेटमा एक-एक गोल फर्काए पनि टोलीलाई पराजयबाट बचाउन सकेनन्।
रियल बेटिसको जितमा इस्कोले दुई गोल गरे। उनले खेलको १०औँ मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए र ६७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। एब्डेले ३१औँ मिनेटमा गोल थपे भने ओसासुनाका खेलाडीको आत्मघाती गोलबाट बेटिसले ४८औँ मिनेटमा अग्रता बढाएको थियो। इन्जुरी समयको छैटौँ मिनेटमा मोरान्तेले पाँचौँ गोल गरे। ओसासुनाका बुदिमिरले ५१औँ र गार्सियाले ५६औँ मिनेटमा गोल गरे पनि हार टार्न सकेनन्।
अन्य खेलमा एल्चे र सेल्टा भिगोबीच कुनै गोल भएन र खेल गोलरहित बराबरीमा सकियो। रेसिङ सान्तान्देर र भ्यालेन्सियाबीचको भिडन्त भने २-२ को बराबरीमा टुङ्गियो। भ्यालेन्सियाका राबाले दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। रेसिङका जाबिरीले ३२औँ र मार्टिनले ४७औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएपछि भ्यालेन्सियाका ओटोरबीले ६५औँ मिनेटमा बराबरी गोल फर्काए।
आज लेभान्तेसँग सेभिल्ला
ला लिगाको आजको खेलमा लेभान्ते र सेभिल्ला एकअर्काविरुद्ध उत्रँदै छन्। लेभान्तेको घरेलु मैदान सिउदाद डे भ्यालेन्सियामा हुने यो खेल नेपाली समयअनुसार मंगलबार बिहान १२ः४५ बजे सुरु हुनेछ।







