काठमाडौं । १० भदौमा रसुवा भोटेकोशीमा आएको हिमबाढीले पाँच जिल्लाका १५ स्थानीय तहमा पुर्याएको क्षतिको सरकारी आकलन प्रतिवेदन सार्वजनिक भएको छ । सरकारले गठन गरेको ‘रसुवा-भोटेकोशी बाढी २०८३ : द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदन अनुसार बाढीका कारण कुल ७ हजार ५ सय ७० घरमा क्षति पुगेको छ । क्षतिको हिसाबमा नुवाकोट अगाडि देखिएको छ, जहाँ मात्रै ३ हजार ९ सय ७७ घर बाढीबाट प्रभावित भएका छन् ।
प्रतिवेदनका अनुसार रसुवामा १ हजार ७ सय ७९ घरमा क्षति पुगेको छ भने धादिङमा १ हजार ४ सय ५१ घरमा क्षति भएको तथ्यांक छ । गोरखाका २ सय ६३ र चितवनका १ सय घरमा बाढीले क्षति पुर्याएको पनि प्रतिवेदनमा उल्लेख छ ।
जिल्लागत क्षति
नुवाकोट — ३ हजार ९ सय ७७ घर
रसुवा — १ हजार ७ सय ७९ घर
धादिङ — १ हजार ४ सय ५१ घर
गोरखा — २ सय ६३ घर
चितवन — १ सय घर
घरमा क्षति पुग्ने क्रममा पनि नुवाकोट नै सबैभन्दा बढी प्रभावित ठहरिएको छ । बाढीले कुल ८ हजार ३ सय १७ घरपरिवार प्रभावित बनाएकोमा नुवाकोटका मात्रै ४ हजार ४ सय १८ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । रसुवाका १ हजार ९ सय २३ र धादिङका १ हजार ५ सय ८८ परिवार बाढीबाट प्रभावित भएको तथ्यांकमा देखिएको छ । यसैगरी गोरखाका २ सय ७४ र चितवनका १ सय १४ परिवार प्रभावित भएका छन् ।
करिब ३३ हजार मानिस प्रभावित
प्रतिवेदन अनुसार यो हिमबाढीले कुल ३२ हजार ९ सय ६३ जनसंख्यालाई प्रभावित बनाएको छ । प्रभावित जनसंख्यामध्ये सबैभन्दा धेरै नुवाकोटमा १७ हजार ८२ जना रहेका छन् ।
रसुवामा ७ हजार ६ सय ३३ र धादिङमा ६ हजार ६ सय ३८ जना बाढीबाट प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । गोरखामा १ हजार ९६ जना र चितवनमा ५ सय १४ जना प्रभावित भएका छन् । बाढीले गरेको असर पाँच जिल्लाका गरी कुल १५ स्थानीय तहमा फैलिएको पनि प्रतिवेदनले देखाएको छ ।







