धनगढी । दार्चुलाको ब्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका आठ अभियुक्तलाई धरौटीमा छाड्न उच्च अदालतले आदेश दिएको छ ।
उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासका न्यायाधीश मातृकाप्रसाद भण्डारी र गिरिराज गौतमको संयुक्त इजलासले दार्चुला जिल्ला अदालतको थुनछेक आदेश बदर गर्दै नयाँ आदेश गरेको हो । आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका प्रतिवादीहरूलाई भिन्न–भिन्न रकम धरौटी राखेर छाड्न भनिएको छ ।
कसलाई कति धरौटी
उच्च अदालतले प्रतिवादीहरूका लागि तोकेको धरौटी रकम यस्तो छ :
परमानन्द भट्ट र दलिदत्त भट्ट — जनही दुई लाख रुपैयाँ
खिमानन्द भट्ट, हरिदत्त भट्ट, पुष्करराज भट्ट र पदमराज भट्ट — जनही एक लाख ५० हजार रुपैयाँ
नरेन्द्रदत्त भट्ट र विक्रमसिंह कुँवर — जनही एक लाख रुपैयाँ
कारागारमा पत्र पुग्न बाँकी
अदालतको आदेश औपचारिक रूपमा दार्चुला जिल्ला कारागारसम्म भने पुगिसकेको छैन । शुक्रबार फैसला भएकाले औपचारिक पत्र आउन केही ढिलाइ हुनसक्ने कारागारले जनाएको छ ।
जिल्ला कारागारका जेलर उमेश सिंह बिष्टका अनुसार अदालतको पत्र प्राप्त भएपछि थुनामा रहेकाहरूलाई छाड्ने प्रक्रिया अघि बढाइनेछ ।
घटनाको पृष्ठभूमि
सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक धामी गत वैशाखमा विद्यालयमै झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । मृत्युअघि उनले आफ्नो फेसबुक वालमा अहिले मुद्दा खेपिरहेका आठै जनाको नाम किटान गर्दै आफूलाई आत्महत्या गर्न बाध्य पारिएको दाबीसहितको स्टाटस लेखेका थिए ।
सोही आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरेको थियो ।







