प्रदेश निर्वाचन कार्यालय गण्डकीले निर्वाचन आयोगको २० औँ प्रतिवेदन शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरेको छ। पछिल्लो निर्वाचन सम्पन्न भएको झन्डै नौ महिनापछि सो प्रतिवेदन बुझाइएको हो।
प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख जीवन ज्ञवालीले प्रदेश प्रमुख भट्टलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। नेपालको संविधानको धारा २९४ को उपधारा (३) मा निर्वाचन कार्यालयले प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगको प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन पेस गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
२०८२ साल फागुन २१ गते प्रतिनिधिसभाको र २०८१ माघ ११ गते राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएको थियो। ती निर्वाचन भएको करिब नौ महिनापछि प्रतिवेदन बुझाइएको हो। प्रतिवेदनको सारांशबारे प्रदेश निर्वाचन अधिकारी ज्ञवालीले प्रदेश प्रमुख भट्टलाई ब्रिफिङ गरेका थिए।
निष्पक्ष निर्वाचनमा जोड
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले स्थानीय तहको निर्वाचन तयारीमा आयोग जुटेको र सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाएको विश्वास व्यक्त गरे। मुलुकको शासन सञ्चालनको आधार तयार गर्ने महत्त्वपूर्ण पक्ष निर्वाचन आयोग नै भएको उल्लेख गर्दै उनले आयोगको जिम्मेवारी महत्त्वपूर्ण र जनप्रतिनिधि निर्वाचित गर्ने दायित्व सामान्य नभएको बताए।
आयोगका काम कारबाही अझ सचेत र गम्भीरतापूर्वक हुनुपर्ने उनको भनाइ छ। स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने दायित्व आयोगको भएको स्मरण गराउँदै प्रदेश प्रमुख भट्टले धाँधलीरहित ढंगले निर्वाचन गर्ने, मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलसम्म पुर्याउने र मत गणना गरी नतिजा सार्वजनिक गर्ने जस्ता काम पक्षपातरहित हुनेमा आयोगको विशेष ध्यान पुग्ने विश्वास व्यक्त गरे।
प्रदेश निर्वाचन अधिकारी ज्ञवालीले आयोग आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटिसकेको जानकारी गराए। सबैको सहयोगमा आगामी निर्वाचन पनि स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउन कुनै कसुर बाँकी नराखिने उनको भनाइ छ।







