काठमाडौं । नेपाली कांग्रेसले गत डिसेम्बरमा गरेको दोस्रो विशेष महाधिवेशनमा रु १ करोड ६४ लाख खर्च गरेको छ । जारी १५औं महाधिवेशनको बन्द सत्रबाट स्वीकृत भएको आर्थिक प्रतिवेदनले यो खर्च विवरण सार्वजनिक गरेको हो ।
पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनअनुसार विशेष महाधिवेशनको कुल खर्च रु १,६४,००,५९१ रहेको छ । सो महाधिवेशन गत वर्ष डिसेम्बर २७ देखि ३० सम्म काठमाडौंको भृकुटीमण्डपमा भएको थियो, जहाँ पार्टीले झन्डै २ हजार ७ सय प्रतिनिधिको बास तथा खानपानको व्यवस्था गरेको थियो ।
यो महाधिवेशनलाई लिएर नेपाली कांग्रेसमा मतभेद कायमै छ । विशेष महाधिवेशन प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको दाबी गर्दै तत्कालीन पार्टी सभापति शेरबहादुर देउवानिकट समूहले सर्वोच्च अदालतमा दायर गरेको रिट अझै विचाराधीन छ ।
आर्थिक विवरणमा के छ ?
प्रतिवेदनमा गत फेब्रुअरीमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले रु २,९६,५१,४०६ खर्च गरेको उल्लेख छ । यसअघि आर्थिक वर्ष २०८२/८३ (सन् २०२५/२६) मा केन्द्रीय कार्यालय सञ्चालनमा पार्टीको रु १,७७,६४,४३३ खर्च भएको थियो ।
कोषाध्यक्ष श्रेष्ठका अनुसार सोही आर्थिक वर्षमा सदस्यता शुल्क, चन्दा तथा नवीकरण शुल्कबापत रु ५५,७७,९२१, दान तथा सहयोगबाट रु १,५३,९२,००० र अन्य स्रोतबाट रु ३६,२०,४३८ आम्दानी भएको थियो ।
चालु आर्थिक वर्ष २०८३/८४ (सन् २०२६/२७) को असोज १ गतेसम्ममा भने सदस्यता शुल्क, चन्दा तथा नवीकरणबाट रु ४,९६,०९,२१० र अन्य आयबाट रु १,५४,९०,००० आम्दानी भएको छ । सो अवधिमा कार्यालय सञ्चालनमा रु ९,२०,९५४ खर्च भएको पनि प्रतिवेदनमा उल्लेख छ ।







