काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारविरुद्धका आरोपबारे आन्तरिक छानबिन टुङ्गिन नसकेसम्म उनलाई जनप्रतिनिधिको हैसियतमा हुने औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
मंगलबार जारी विज्ञप्तिमा पार्टीले सुनारसम्बन्धी सञ्चारमाध्यममा आएका समाचार, सार्वजनिक रूपमा चलेका अडियो सामग्री र उनीबारे उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको जनाएको छ । विज्ञप्तिअनुसार उनीविरुद्ध महिलाको मर्यादामा आँच पुग्ने आचरण, अनुचित दबाब, नचाहिँदो धम्की तथा शंकास्पद आर्थिक कारोबारसम्बन्धी आरोप छन् ।
तथ्य पत्ता लगाउन पार्टीले केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन सुरु गर्न निर्देशन दिएको छ । छानबिन प्रभावित हुन नदिन र सार्वजनिक पदमा नैतिक मान्यता कायम राख्न यस्तो बन्देज लगाइएको पार्टीको भनाइ छ ।
आरोपबारे सम्बन्धित राज्य निकायले स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ । अनुसन्धानमा आफूहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको छ ।
कानुनको उल्लंघन वा सार्वजनिक पदसँग जोडिएको आचरणको मापदण्ड तोडेको पाइए कसैलाई पनि राजनीतिक संरक्षण नदिने पार्टीले स्पष्ट पारेको छ । राज्यको अनुसन्धान र आफ्नो आन्तरिक छानबिनबाट निस्कने निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कारबाही अघि बढाउने पनि पार्टीले जनाएको छ ।







