२६ असोज, काठमाडौं । केयरगिभरमा इजरायल पठाइदिने भन्दै रकम उठाई ठगी गरेको आरोपमा पक्राउ परेकाहरूविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता खुलेपछि र समूहगत रूपमा काम गरेको देखिएपछि संगठित अपराधको कसुर थपेर अनुसन्धान गरिरहेको हो ।
सुरुमा ब्यूरोले यो प्रकरणमा ठगीको कसुरमा मात्र अनुसन्धान अघि बढाएको थियो र दुई जनालाई पक्राउ गरेको थियो । अनुसन्धान अगाडि बढ्दै जाँदा अन्य व्यक्तिहरूको संलग्नता देखिएपछि र यो समूहबद्ध रूपमा भएको पाइएपछि प्रहरीले संगठित अपराधको कसुर पनि लगाएको जनाएको छ ।
सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले संगठित अपराधको कसुर लगाएर अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । संगठित अपराधको कसुर लागेसँगै आरोपितलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने सुविधा प्रहरीलाई हुने व्यवस्था छ ।
पाँच जना पक्राउमा
यो प्रकरणमा सीआईबीले अहिलेसम्म पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाका बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ र कांग्रेसकै केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्का छन् ।
आरोपअनुसार उनीहरूको समूहले नेपाल सरकार र इजरायल सरकारबीच भएको सम्झौताबमोजिम केयरगिभर परीक्षामा उत्तीर्ण भएकाहरूलाई प्रधानमन्त्रीको सल्लाहकारसँग चिनजान रहेको बताउँदै छिटो इजरायल पठाइदिने भन्दै रकम उठाएको थियो । सोही भरमा उनीहरूले ठगी गरेको आरोप छ ।







