दुर्गम क्षेत्रमा हवाई उद्धार गरिएका गर्भवतीमध्ये १९ प्रतिशत २० वर्षमुनिका रहेको तथ्यांक सार्वजनिक भएको छ । यी किशोरी आमाहरूमा उच्च रक्तचाप, अधिक रक्तस्राव, र रक्तअल्पता जस्ता जटिलता देखिने गरेको चिकित्सकले बताएका छन् ।
कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ललितजंग शाहीका अनुसार कम उमेरका गर्भवतीमा उच्च रक्तचापको जोखिम बढी हुन्छ, जसका कारण शल्यक्रिया बिना सुत्केरी गराउन मुस्किल हुन्छ । ‘हवाई उद्धार गरेर आएका किशोरीमा सुत्केरी बेथा सुरु हुनासाथ रगत धेरै बग्ने, शिशुको तौल कम हुने, उच्च रक्तस्राव र रक्तअल्पता जस्ता समस्या देखिन्छन्,’ उनले भने ।
यस्तो अवस्थालाई रोक्न महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको महिला सशक्तिकरण महाशाखा प्रमुख अञ्जु ढुङ्गानाले तीनै तहका सरकारले बालविवाह न्यूनीकरणमा जोड दिन आवश्यक रहेको बताइन् । उनका अनुसार किशोरावस्थामै आमा बन्न नदिन सबै सरकारले गम्भीर पहल गर्नुपर्छ ।

