मुख्य सामग्रीमा जानुहोस्

एनपीएल : सुदूरपश्चिमको ब्याटिङ फितलो रह्यो, प्रशिक्षक उल–हकद्वारा सुधारको अपेक्षा

उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स ८७ रनमै अलआउट हुँदै डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भयो । प्रशिक्षक मिसबह उल–हकले यसलाई खराब सुरुआत मान्दै आगामी खेलमा अनुशासित प्रदर्शन आवश्यक रहेको बताएका छन्…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
एनपीएल : सुदूरपश्चिमको ब्याटिङ फितलो रह्यो, प्रशिक्षक उल–हकद्वारा सुधारको अपेक्षा
eKantipur

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स पराजित भएपछि टिमका प्रशिक्षक मिसबह उल–हकले आफ्नो टिमको प्रदर्शनलाई फितलो रहेको स्विकारेका छन् । पाकिस्तानी क्रिकेटका लिजेन्डसमेत रहेका उल–हकले अबका खेलमा टिमको प्रदर्शन अनुशासित हुनुपर्ने बताएका छन् ।

सोमबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमलाई डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले सहजै सात विकेटले हराएको थियो । दुई पटक उप–विजेता बनेको सुदूरपश्चिम गत सिजनको फाइनलमा पनि लुम्बिनीसँगै पराजित भएको थियो ।

खेलपछिको पत्रकार सम्मेलनमा उल–हकले प्रतियोगिताको पहिलो खेलमा यस्तो प्रदर्शन कहिलेकाहीँ हुन सक्ने भन्दै पनि आफ्नो टिमको खेल वास्तवमै फिक्का रहेको बताए । यसलाई खराब सुरुआत मान्नुपर्ने उनको भनाइ छ । आफ्ना ब्याटरले राम्रो सट खेल्न नसकेको उल्लेख गर्दै उनले अबका खेलमा राम्रो प्रदर्शन आवश्यक रहेको औंल्याए ।

पिच केही सुस्त रहेकाले यस्तो अवस्थामा साझेदारी महत्त्वपूर्ण हुने, तर आफ्ना खेलाडीले त्यसअनुसारको प्रदर्शन गर्न नसकेको पनि उनले बताए । पहिले ब्याटिङ गरेको सुदूरपश्चिम नियमित अन्तरालमा विकेट गुमाउँदै ८७ रनमै अलआउट भएको थियो ।

यता विजयी लुम्बिनीका खेलाडी किशोर महतोले भने यो जितलाई स्वप्निल सुरुआतका रूपमा लिएका छन् । पिचको व्यवहार केही सुस्त रहे पनि आफूहरूले राम्रो गर्न सकेको र आफूले चिताएकै जस्तो खेल भएको उनको भनाइ छ । यो राम्रो सुरुआत भएको उनले बताए ।