काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा मंगलबार बिहान भएको कार आगलागीमा ज्यान गुमाउनेको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार मृत्यु हुनेमा ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ रहेको जनाइएको छ।
श्रेष्ठ काठमाडौं–२६ का स्थायी बासिन्दा हुन् र हाल ग्रिनउड भिलामा बस्दै आएका थिए। उनको बा५च ३०३८ नम्बरको कार पूर्णरुपमा जलेको छ। घटनामा उनको श्रीमती भावविह्वल अवस्थामा रहेको प्रहरीले बताएको छ।
शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। प्रहरीले घटनास्थल आसपासको सीसी क्यामराको फुटेज हेरेको छ, जसमा श्रेष्ठ ड्राइभिङ सिटमा बसिरहेका बेला आगो लागेको देखिएको छ। स्थानीयले ढोका खोले पनि उनले निस्किने प्रयास नगरेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन्।
हालसम्म आगलागीको कारण खुल्न सकेको छैन। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
