भारतीय रंगमञ्च तथा चलचित्रकी प्रसिद्ध अभिनेत्री शबाना आजमीको अभिनय यात्रा बाल्यकालमै सुरु भएको छ। आमा शौकत कैफी छोरीलाई छ महिनाको हुँदादेखि नै नाटकको रिहर्सलमा सँगै लिएर जाने गर्थिन्, जसका कारण अभिनयप्रतिको रुचि उनमा सानैदेखि अंकुराएको हो। एउटा अन्तर्वार्तामा उनले आफ्नो बाल्यकाल र पारिवारिक पृष्ठभूमिबारे खुलेर बोलेकी छन्।
स्कुल पढ्दाको समय सम्झँदै शबानाले परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको बताएकी छन्। करिब १८० देखि २०० वर्ग फिटको सानो कोठामा आठ परिवार बस्ने गरेका थिए र ती सबैले एउटै शौचालय प्रयोग गर्नुपर्थ्यो। बुबाले कमाएको सम्पूर्ण रकम कम्युनिस्ट पार्टीलाई जाने गरेको र घर खर्च चलाउन परिवारलाई जम्मा ४० रुपैयाँ मात्र उपलब्ध हुने गरेको उनको भनाइ छ। त्यही अभावका बीच आफूले काल्पनिक कथा बुन्न थालेको उनले सुनाएकी छन्।
पछि फिल्म इन्स्टिच्युटमा भर्ना हुने निर्णय गरेपछि उनले बुबा कैफी आजमीलाई आफ्नो चाहनाप्रति समर्थन रहने कि नरहने सोधेकी थिइन्। भारतका प्रसिद्ध कवि पनि रहेका कैफीले छोरीले रोजेको बाटोमा आफू साथ दिने जवाफ दिएका थिए। भोलि जुत्ता सिउने पेसा रोजे पनि उनले समर्थन गर्ने, तर त्यो काममा पनि उत्कृष्ट हुनुपर्ने उनको सर्त थियो।
पिताको कविताले दिएको दृष्टि
परिवारमा रहेको राजनीतिक चेतना, लैंगिक समानता र लेखकहरूको प्रभाव नै आफ्नो अभिनयको मूल आधार बनेको हो कि भनी सोधिएको प्रश्नमा शबानाले बुबाको कविताबाट परेको प्रभावबारे बताएकी छन्। करिब ७५ वर्षअघि कैफीले महिलालाई समर्पित गरेर लेखेको कवितामा महिलालाई पुरुषको पछि होइन, काँधमा काँध मिलाएर अघि बढ्न भनिएको थियो।
त्यसैले आफूले समानतालाई सामान्य जीवनको नियम मान्दै आएको तर १९ वर्षको हुँदा समाजमा समानता भनेको अपवाद मात्र रहेको बुझेको उनले बताएकी छन्।


