मुख्य सामग्रीमा जानुहोस्

साइबर ब्युरोले पत्रकार सुवेदीलाई प्रधान सम्पादक पौडेलको जिम्मामा छाड्यो

नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीको साइबर ब्युरोले शुक्रबार प्रधान सम्पादक मात्रिका पौडेलको जिम्मामा छाडेको छ। ब्युरोले पौडेल र कम्पनीका अध्यक्ष विन्दु लम्साललाई पनि सोधपुछका लागि बोलाएको थियो।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:eKantipur
साइबर ब्युरोले पत्रकार सुवेदीलाई प्रधान सम्पादक पौडेलको जिम्मामा छाड्यो
eKantipur

काठमाडौँ — प्रहरीको साइबर ब्युरोले पत्रकार विश्वमणि सुवेदीलाई शुक्रबार आफ्नो नियन्त्रणबाट छाडेको छ। नेपाल प्रेस डटकमका प्रधान सम्पादक मात्रिका पौडेलको जिम्मामा उनलाई ब्युरोले छाडेको हो।

सुवेदी आफूहरूसँगै बाहिर निस्केको पौडेलले पुष्टि गरे। उनका अनुसार सोही विषयमा आफू र नेपाल प्रेस डटकमकै अध्यक्ष विन्दु लम्साललाई पनि साइबर ब्युरोमा बोलाइएको थियो।

ब्युरोले आफूहरूसँग प्रकाशित समाचारको स्रोत के हो भन्ने प्रश्न गर्दै नकारात्मकता फैलाएको विषयमा पनि जिज्ञासा राखेको पौडेलले बताए। समाचारका आधार, तथ्य र प्रमाण आफूहरूले ब्युरोसमक्ष पेस गरेको र तोकिएको अदालत तथा प्रेस काउन्सिलले मागेको अवस्थामा मात्र प्रमाण पेस गर्न सकिने जवाफ दिइएको उनको भनाइ छ।

प्रहरीले आफूहरूलाई बोलाउनुको कारणबारे पनि जानकारी दिएको पौडेलले जनाए। समाचार कसरी आयो भनेर नियन्त्रणमा लिएर सोधपुछ गर्न भनिएपछि आफूहरूलाई बोलाइएको र प्रधानमन्त्रीको सचिवालयबाट राजीनामा मागिएको छैन भन्ने प्रहरीको भनाइ रहेको उनले बताए।

यसअघि शुक्रबार दिउँसो पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा पुर्‍याइएको थियो। त्यसपछि उनलाई साइबर ब्युरोमा लगिएको हो।