अमेरिकाका विभिन्न राज्यमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को लागि निर्माण भइरहेका डेटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाको विरोध चर्किएको छ। प्रविधि कम्पनीहरूले सहरी क्षेत्रभन्दा गाउँतिर डेटा सेन्टर विस्तार गर्न थालेपछि प्राकृतिक स्रोत जोगाउन प्रदर्शन भइरहेको हो। आज (जुलाई १८) मा अमेरिकाभर देशव्यापी आन्दोलनको आह्वान गरिएको छ।
युटाह, मिसौरी, जर्जिया, ओहायो, इन्डियाना, ओरेगनलगायत दर्जनौँ राज्यमा डेटा सेन्टरविरुद्ध विरोध फैलिएको छ। फोर्ब्सले उल्लेख गरेको ग्यालप सर्वेक्षणअनुसार ७१ प्रतिशत अमेरिकी आफ्नै क्षेत्रमा डेटा सेन्टर बनाउन विपक्षमा छन्। सर्वेक्षणले डेटा सेन्टरप्रतिको विरोध आणविक ऊर्जा केन्द्रभन्दा पनि बढी रहेको देखाएको छ।
विरोधका कारण
स्थानीय बासिन्दाले डेटा सेन्टरलाई ‘स्रोत सोस्ने राक्षस’ का रूपमा चित्रण गरेका छन्। यी केन्द्रहरूले अत्यधिक बिजुली खपत गर्ने भएकाले महसुल वृद्धि हुने, पानीको संकट निम्तिने र कृषियोग्य भूमि नष्ट हुने चिन्ता छ। युटाहको बक्स एल्डर काउन्टीमा ‘स्ट्राटस प्रोजेक्ट’ नामक डेटा सेन्टर तथा इनर्जी क्याम्पस ४० हजार एकड क्षेत्रफलमा फैलिने योजना छ। यसविरुद्ध सार्वजनिक सुनुवाइमा सयौँ स्थानीयले प्रदर्शन गरेका थिए।
मिसौरीको फेस्टस र जेफरसन काउन्टीमा ६ अर्ब डलर लगानीको डेटा सेन्टर परियोजना स्वीकृत गरेको भन्दै आक्रोशित जनताले सहर काउन्सिलका आधा सदस्यलाई चुनावबाट हराइदिएका छन्। ‘वेक अप जेफको’ नामक समूहले काउन्टी र कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। जर्जियामा मेटाको डेटा सेन्टरले खानेपानीको गुणस्तर बिगारेको भन्दै विरोध भइरहेको छ। ओहायोमा २५ मेगावाटभन्दा बढी बिजुली खपत गर्ने डेटा सेन्टर निर्माणमा पूर्ण प्रतिबन्ध लगाउने प्रस्तावसहित संविधान संशोधनको माग उठेको छ।
संसद्मा समेत बहस
यो विवाद अमेरिकी संसद्मा पुगेको छ। सिनेटर बर्नी स्यान्डर्सले डेटा सेन्टर निर्माणमा तत्काल रोक लगाउन विधेयक दर्ता गराएका छन्। तल्लो सदनकी सदस्य अलेक्जान्ड्रिया ओकासियो कर्टेजले डेटा सेन्टरले दूषित पारेको पानीको नमूना संसद्मा प्रस्तुत गर्दै प्रविधिको प्रगति स्थानीय समुदायको जनस्वास्थ्य र प्राकृतिक स्रोतको मूल्यमा हुन नहुने बताइन्।
अमेरिकाका करिब १४ राज्यमा डेटा सेन्टर निर्माण रोक्न वा नियमन गर्न कानुन र प्रतिबन्ध ल्याउने तयारी भइरहेको छ। टेक्ससका कृषि आयुक्त सिड मिलरले पनि नियमनको आवश्यकता औंल्याएका छन्।
प्रविधि कम्पनीको तर्क र विज्ञको चिन्ता
प्रविधि कम्पनीहरूले डेटा सेन्टरलाई आर्थिक विकास र रोजगारीको आधारका रूपमा प्रस्तुत गरेका छन्। ओपनएआईका प्रमुख साम अल्टम्यानले डेटा सेन्टरले क्यान्सर उपचार र शिक्षामा क्रान्ति ल्याउन सक्ने दाबी गरे। तर, ऊर्जा विज्ञ रोबर्ट ब्राइसका अनुसार सन् २०२४ मा ९ डेटा सेन्टर परियोजना रोकिएका थिए भने सन् २०२६ को पहिलो ६ महिनामै १०७ परियोजनामाथि प्रतिबन्ध वा अवरोध सिर्जना भइसकेको छ। विज्ञहरू यस विरोधलाई प्रविधि कम्पनीविरुद्धको विद्रोहका रूपमा व्याख्या गर्छन्।







