मुख्य सामग्रीमा जानुहोस्

श्रीलङ्काले सुरु गर्‍यो ६६ करोड ५० लाख डलरको कृषि कार्यक्रम, सन् २०३० सम्म नौ लाख किसान बजारसँग जोडिने

श्रीलङ्काले कृषि क्षेत्रको आधुनिकीकरण गर्ने उद्देश्यले ६६ करोड ५० लाख अमेरिकी डलरको कार्यक्रम शुक्रबार सुरु गरेको छ। यसले सन् २०३० सम्ममा नौ लाख किसानलाई उत्पादन तथा बजारको मूल्य शृङ्खलासँग जोड्ने लक्ष्य राखेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
श्रीलङ्काले सुरु गर्‍यो ६६ करोड ५० लाख डलरको कृषि कार्यक्रम, सन् २०३० सम्म नौ लाख किसान बजारसँग जोडिने
Nagariknetwork

कृषि क्षेत्रको आधुनिकीकरणमार्फत राष्ट्रिय अर्थतन्त्रमा यसको भूमिका बढाउने उद्देश्य राखेर श्रीलङ्काले शुक्रबार ६६ करोड ५० लाख अमेरिकी डलर लागतको कृषि विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ। ‘श्रीलङ्का एग्रीकनेक्ट’ नाम राखिएको यो कार्यक्रम विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईएफएडी) को आर्थिक सहयोगमा अघि बढ्नेछ।

कार्यक्रमको प्रमुख लक्ष्य सन् २०३० सम्ममा नौ लाख किसानलाई कृषि उत्पादन र बजारको मूल्य शृङ्खलासँग आबद्ध गराउनु रहेको छ। यसका लागि विश्व बैंक समूहले ५५ करोड अमेरिकी डलर र आईएफएडीले ११ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने जनाइएको छ।

सरकारी सहयोगबाहेक आगामी पाँच वर्षमा निजी क्षेत्रबाट थप १७ करोड अमेरिकी डलरसम्मको लगानी भित्र्याउने पनि कार्यक्रमको लक्ष्य छ। अधिकारीहरूका अनुसार डिजिटल प्रविधिको उपयोगसहित आधुनिकीकरणका विविध उपाय अपनाएर कृषि तथा खाद्य क्षेत्रलाई जलवायु परिवर्तनको असर सहन सक्ने र बजारमुखी उद्योगका रूपमा विकास गर्ने परिकल्पना गरिएको छ।

कार्यक्रमको शुभारम्भका क्रममा सार्वजनिक गरिएको विवरणअनुसार श्रीलङ्काको कुल गार्हस्थ उत्पादनमा कृषि तथा खाद्य क्षेत्रको योगदान करिब १५ प्रतिशत छ। त्यस्तै वस्तु निर्यातमा यस क्षेत्रको हिस्सा ३० प्रतिशत रहेको छ भने कुल रोजगारीमा यसको भाग करिब एक तिहाइ छ।