काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीलाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।
पार्टी मुख्यालयमा शनिबार सम्पन्न सचिवालय बैठकले समाचारको विषयलाई लिएर सञ्चारकर्मीसँग सोधपुछ भएको तथा समाचार कक्षमा प्रहरी प्रवेश गरेको विषयमा छानबिन गर्न र प्रेस स्वतन्त्रताविरोधी गतिविधिमा संलग्नमाथि कुनै सम्झौता नगरी कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
ती घटना के कारणले भए, कसरी भए र कसले गरे भन्ने विषयमा छानबिन गरी दोषीलाई कारबाहीको भागीदार बनाउन बैठकले निर्देशन दिएको खरेलले बताए। यस्ता क्रियाकलापमा संलग्नमाथिको कारबाहीमा कुनै सम्झौता वा ढिलासुस्ती नगर्न पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।
प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता
बैठकपछि प्रवक्ता खरेलले पार्टीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा लिने र विधिको शासन एवं मानव अधिकारको सम्मान गर्ने बताए। प्रेस स्वतन्त्रताको सन्दर्भमा पार्टीले कसैसँग पनि सम्झौता नगर्ने उनको भनाइ छ।
सरकारले प्रेस स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धता सुनिश्चित गर्नुपर्ने विषयमा पनि बैठकले निर्देशन दिएको छ। समाचार लेखेकै आधारमा कुनै सञ्चारमाध्यम, प्रकाशक, प्रसारक वा सञ्चारकर्मी–पत्रकारले धरपकट तथा दबाब भोग्नु नपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको खरेलले जनाए।







