भारतीय फिल्म ‘बटवारा १९४७’ को नेपाल प्रदर्शन तत्काल अघि बढ्न नसक्ने भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मका केही दृश्य र संवादबारे आपत्ति जनाउँदै प्रदर्शन अनुमति दिन अस्वीकार गरेपछि शुक्रबारबाट नेपालका हलमा रिलिज हुने तयारी रहेको फिल्मको भविष्य अन्योलमा परेको हो ।
समितिले फिल्म हेरेर गरेको ठहरमा नेपालमा हालै घटेका घटनाक्रमलाई ध्यान दिँदै फिल्मका केही प्रसंगले धार्मिक सहिष्णुता तथा शान्ति–सुरक्षामा नकारात्मक असर पुर्याउन सक्ने जोखिम रहेको उल्लेख छ । यी सामग्री संशोधन गरेर मात्र फिल्म १६ वर्षभन्दा माथिका दर्शकका लागि प्रदर्शन गर्न सकिने सर्त समितिले राखेको छ ।
समितिको निर्णय
समिति अध्यक्ष उदयबहादुर रानामगर तथा सदस्यहरू सौरभ बस्याल, मनोज पण्डित, सन्तोषबाबु लोहनी र ममता बाँस्तोलाले हस्ताक्षर गरेको निर्णयमा फिल्मका विवादास्पद दृश्य र संवाद काटेर ल्याउन भनिएको छ ।
फिल्म जाँच गर्दा हालसालै नेपालमा देखिएका घटनाक्रमका कारण धार्मिक सहिष्णुता र शान्ति–सुरक्षामा खलल पर्न सक्ने भन्दै समितिले केही विषय परिमार्जन गरी १६ वर्षभन्दा माथिका दर्शकले हेर्ने गरी प्रदर्शन अनुमति दिन सकिने जनाएको छ ।
नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले भने समितिले औंल्याएका दृश्य काट्न नसकिने बताएका छन् । ‘समितिले भनेका दृश्य हटाउँदा फिल्मको कथा र स्तर नै बिग्रन्छ,’ उनले भने, ‘त्यसैले हामी प्रदर्शनका लागि कानुनी उपचार खोजेर अघि बढ्छौं ।’
यसैबीच, फिल्म सेन्सर हुनुअघि नै केही हलले अग्रिम टिकट बिक्री सुरु गरिसकेका छन् । अन्तिम निर्णय नआएसम्म केही हलले भने टिकट बुकिङ खुलाएका छैनन् ।
नेपालको केन्द्रीय चलचित्र जाँच समितिले पहिले पनि मैत्रीपूर्ण राष्ट्रसँगको सम्बन्धमा असर पुर्याउन सक्ने फिल्मलाई अनुमति नदिने अडान लिइसकेको छ । यही पृष्ठभूमिमा ‘बटवारा १९४७’ ले प्रदर्शन अनुमति पाउने कि नपाउने भन्ने चासो बढेको छ ।
फिल्मको कथा र कलाकार
राजकुमार सन्तोषीले निर्देशन गरेको फिल्मको कथा सन् १९४७ को भारत विभाजनका क्रममा मानिसले भोगेको पीडा, आघात र कठिन परिस्थितिबीच देखाइएको साहस तथा मानवीय संवेदनामा केन्द्रित छ । असगर वजाहतको चर्चित नाटक ‘जिस लाहौर नई वेख्या, ओ जम्या ई नई’ बाट रूपान्तरण गरिएको फिल्मको मुख्य पात्र सिकन्दर मिर्जा (सनी देओल) हुन्, जो आफ्नो परिवारसहित पाकिस्तान बसाइँ सर्छन् ।
पाकिस्तान पुगेपछि उनीहरू एक हिन्दू परिवारले छाडेर गएको विशाल हवेलीमा बस्न थाल्छन् । त्यही हवेलीमा घर छाड्न अस्वीकार गरेकी वृद्ध महिला माईको भूमिकामा शबाना आजमी छिन् । साम्प्रदायिक घृणाभन्दा मानवीयता र करुणालाई प्राथमिकता दिँदै सिकन्दरले बढ्दो हिंसाबीच माईलाई संरक्षण र आश्रय दिने निर्णय गर्छन् ।
फिल्ममा सनी देओल, प्रीति जिन्टा, शबाना आजमी, करण देओल, अली फजल र अभिमन्यु सिंहको मुख्य भूमिका छ । लामो समयपछि ठूलो पर्दामा फर्किएकी प्रीति जिन्टाका लागि यो फिल्म कमब्याकका रूपमा समेत चर्चामा छ भने अभिमन्यु सिंह मुख्य खलपात्रका रूपमा देखिनेछन् ।
