संसदीय सुनुवाइ समितिको बैठक शनिबार सुरु भएको छ । बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले आफ्नो कार्ययोजना प्रस्तुत गरिरहेका छन् ।
समितिको आजको बैठकमा पाण्डेपछि अर्का प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीको सुनुवाइ हुनेछ । दुवैजनाविरुद्ध समितिमा उजुरी परेका छन् — पाण्डेविरुद्ध १० वटा र डाँगीविरुद्ध ७ वटा । पाँच जना उजुरीकर्ताले भने सबै प्रस्तावित न्यायाधीशका विरुद्धमा उजुरी दर्ता गराएका छन् ।
यसअघि शुक्रबार बसेको समितिको बैठकमा उजुरीकर्ताहरूसँग छलफल भएको थियो । सोही बैठकमा प्रस्तावित न्यायाधीशद्वय डा रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ सम्पन्न भएको थियो ।
सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि असोज २० गते बसेको न्याय परिषद्को बैठकले सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा संसदीय सुनुवाइ समितिमा सुनुवाइ भइरहेको हो ।







