कात्तिक २१, काठमाडौं । तिहार र छठ पर्वका बेला उपभोक्ताले निर्बाध तथा गुणस्तरीय बिजुली पाउने गरी नेपाल विद्युत प्राधिकरणले उत्पादनदेखि वितरणसम्मका संरचना सक्रिय राख्ने र प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाएको छ ।
यसका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेर पर्वका समयमा हुन सक्ने चुनौतीको व्यवस्थापन, प्रणाली सञ्चालन र आपूर्ति व्यवस्थापनबारे छलफल गरिएको छ ।
प्राधिकरणका अनुसार प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालय मातहतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक भएको छ । उक्त बैठकमा विद्युत आपूर्तिको व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्तिको परिचालनबारे समन्वय गरिएको छ ।
कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर आपूर्तिमा कुनै अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । केही समस्या देखिए तत्काल मर्मत गरेर सेवा सुचारु गर्न प्राविधिक टोलीलाई जहानै तयार राख्नुपर्ने उनको भनाइ छ ।
प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सक्न पनि निर्देशन दिइएको छ, जसबाट आपूर्तिमा पर्न सक्ने सम्भावित बाधा न्यूनीकरण हुने अपेक्षा छ । त्यस्तै, विद्युतसम्बन्धी गुनासो तुरुन्त सम्बोधन होस् भनेर नो लाइट सेवामा आउने फोन नियमित रूपमा उठाउने र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्देशन पनि कार्यालय प्रमुखहरूलाई दिइएको छ ।
मागभन्दा बढी हुने अनुमान गरिएको उत्पादन
लक्ष्मीपूजाका दिन साँझ विद्युतको अधिकतम माग करिब १ हजार ७ सय मेगावाट पुग्ने अनुमान प्राधिकरणको छ । सोही अवधिमा करिब २ हजार ५ सय मेगावाट उत्पादन हुने प्रक्षेपण गरिएको छ । आन्तरिक उत्पादनले माग धान्ने भएकाले आपूर्ति सहजका लागि पर्याप्त बिजुली उपलब्ध हुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् ।
पर्व अवधिभर माग र आपूर्तिको अवस्थाबारे नियमित अनुगमन गर्न एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रबीच निरन्तर समन्वय गरिने प्राधिकरणले जनाएको छ । प्रणालीमा आउन सक्ने समस्या बेलैमा पहिचान गरी तुरुन्त समाधान गर्न प्राविधिक तथा व्यवस्थापकीय तयारी गरिएको छ ।
यसैबीच प्राधिकरणले पर्वका अवसरमा विद्युतको सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । घरायसी विद्युतीय उपकरण तथा तारको अवस्था जाँच्न, गुणस्तरहीन सामग्री नप्रयोग गर्न तथा चुहावट वा तारमा समस्या देखिए आफैँ नमर्मत गरी दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ ।
विद्युत आपूर्तिसम्बन्धी समस्या वा गुनासो भएमा नजिकैको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।







