काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको अवस्थामा आज देशका पाँच प्रदेशका हिमाली भूभाग तथा तीन प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । गएराति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल देखिएको थियो । तीबाहेकका पहाडी र तराईका भूभागमा रातभरि आकाश खुला रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र अन्य स्थानमा मौसम सामान्यतया सफा रहने प्रक्षेपण छ । यही क्रममा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
राति कोशीका हिमाली भेगमा मात्र वर्षाको अनुमान
आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बाँकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । अन्य क्षेत्रमा भने मौसम सफा रहने अनुमान महाशाखाले गरेको छ । रातिको समयमा हल्का वर्षा तथा हिमपातको सम्भावना कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मात्र देखिएको छ ।
यसैबीच तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ । यस्तो अवस्थामा बिहानको समयमा सडक तथा हवाई यात्रा गर्दा दृश्यता कम हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविद्हरूले सुझाउँदै आएका छन् ।







