काठमाडौं, २२ कात्तिक । सूचीकृत आठ कम्पनीका सेयरमा लागेको लकइन अवधि मंसिर मसान्तभित्र सकिने भएको छ । यी कम्पनीमा सामूहिक लगानी कोष, संस्थापक, कर्मचारी तथा प्रभावित स्थानीय सेयरधनीको हिस्सामा रहेको बिक्री प्रतिबन्ध हट्न लागेको हो ।
लकइन अवधि सकिएपछि सम्बन्धित सेयरधनीले बजार मूल्यमै आफ्नो सेयर किनबेच गर्न पाउँछन् । यसले बजारमा सेयरको आपूर्ति बढाउने र मूल्यमा दबाब पर्न सक्ने जोखिम रहन्छ ।
नियामुसार लकइन अवधि सकिनुभन्दा एक महिना अगावै सार्वजनिक सूचना जारी गरेर जानकारी दिनुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुरुप कम्पनीहरूले सूचना जारी गर्दै आएका छन् ।
सर्वसाधारणमा सेयर बाँडफाँट भएको मितिबाट सामूहिक लगानी कोषका हकमा ६ महिना तथा स्थानीय र संस्थाका हकमा बढीमा तीन वर्षसम्म सेयर लकइन रहने गरेको छ ।
कुन कम्पनीको सेयर कहिले खुल्छ ?
याम्बलिङ हाइड्रोपावर : म्युचुअल फन्डले होल्ड गरेको १ लाख ५ हजार कित्ता सेयरमा कात्तिक २९ गते लकइन अवधि सकिँदैछ ।
भिजन लुम्बिनी ऊर्जा : संस्थापकको १ करोड ५३ लाख कित्ता, प्रभावित स्थानीयको १४ लाख २४ हजार ५९० कित्ता र कर्मचारीको ३८ हजार २५० कित्ता गरी कुल १ करोड ६७ लाख ६२ हजार ८४० कित्तामा मंसिर ४ गते लकइन सकिँदैछ ।
टक्सार पिखुवाखोला हाइड्रोपावर : म्युचुअल फन्डको १ लाख ४९ हजार ३२ कित्ता सेयरमा मंसिर ५ गते लकइन अवधि सकिँदैछ ।
स्नो रिभर्स : म्युचुअल फन्डले राखेको ४६ हजार ८७५ कित्ता सेयरमा मंसिर ११ गते लकइन सकिँदैछ ।
मुक्तिनाथ कृषि कम्पनी : संस्थापकको ६० लाख ४८ हजार कित्ता र कर्मचारीको ४५ हजार ३६० कित्ता गरी कुल ६० लाख ९३ हजार ३६० कित्तामा मंसिर १८ गते लकइन सकिँदैछ ।
नेपाल वेयरहाउजिङ कम्पनी : संस्थापकको ५५ लाख कित्ता र कर्मचारीको २७ हजार ५ सय कित्ता सेयरमा मंसिर १९ गते लकइन अवधि सकिँदैछ ।
कालंगा हाइड्रोपावर : म्युचुअल फन्डको १ लाख ७५ हजार कित्ता सेयरमा मंसिर २६ गते लकइन सकिँदैछ ।
सानीगढ हाइड्रो : म्युचुअल फन्डको २ लाख ८५ हजार कित्ता सेयरमा मंसिर २९ गते लकइन अवधि सकिने भएको छ ।
यीमध्ये सबैभन्दा पहिले याम्बलिङ हाइड्रोपावरको सेयर खुला हुँदैछ, जसको लकइन कात्तिक २९ गते अन्त्य हुनेछ । त्यसपछि मंसिरभरि पालोअनुसार अन्य कम्पनीका संस्थापक, कर्मचारी, प्रभावित स्थानीय तथा म्युचुअल फन्डको सेयर बजारमा कारोबारयोग्य हुनेछ ।


