तिहार नजिकिएसँगै घरको मूलढोका, आँगन र पूजास्थलमा रंगोली बनाउने तयारी सुरु भएको छ। दियोको उज्यालो, फूलको सुगन्ध र देउसी–भैलोको धुनबीच रंगीबिरंगी रंगोलीले उत्सवको माहोललाई अझै घना बनाउने गर्छ। पछिल्ला वर्षमा यो चलन सहरी क्षेत्रबाट गाउँघरसम्म पनि फैलिएको छ।
घरको मूलढोका वा आँगनमा बनाइने रंगोलीलाई सुख, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ। यसैकारण तिहारमा घर सजाउनु भनेको बत्ती बाल्ने काममात्र नभई शुभताको स्वागत गर्नु पनि मानिएको छ। रंगोली सजावटको साधन मात्र नभई धार्मिक आस्था, सांस्कृतिक परम्परा र सिर्जनात्मक अभिव्यक्तिको संगमका रूपमा पनि लिइन्छ।
धार्मिक तथा सांस्कृतिक महत्व
नेपाली समाजमा कुनै पनि शुभकार्य सुरु गर्नुअघि चामलको पीठोबाट स्वस्तिक वा अन्य शुभ आकृति बनाउने परम्परा छ। त्यसले घरमा शुभकार्य भइरहेको संकेत गर्छ। रंगोलीलाई पनि सोही शुभताको प्रतीकका रूपमा हेरिन्छ र हवन–यज्ञजस्ता धार्मिक कार्यमा यसको प्रयोग गरिन्छ।
रंगोलीको अर्को नाम अल्पना हो। वात्स्यायनको ‘कामसूत्र’मा वर्णित चौसठी कलामध्ये अल्पना पनि एक मानिन्छ। घर–आँगन लिपपोत गरेर रंगोली बनाउने कामलाई भूमि शुद्धीकरण र समृद्धिको आह्वानसँग जोडिन्छ। यसको सांकेतिक अर्थ जीवनलाई रंगीन बनाउनु पनि हो भन्ने विश्वास छ।
रंगोली बनाउन के चाहिन्छ ?
रंगोली बनाउन सिन्दुर, चामलको पीठो, विभिन्न रंगका धुलो, रंगीन चामल वा फूल प्रयोग गर्न सकिन्छ। बीचमा वा कुनामा दियो राख्दा यसको सौन्दर्य थपिन्छ भने सयपत्री फूलले सजाउँदा तिहारको रौनक झनै बढ्छ। डिजाइन छनोट गर्दा स्वस्तिक, गणेश वा अन्य देवीदेवताका आकृतिदेखि साधारण ज्यामितीय आकारसम्मका विकल्प उपलब्ध छन्।
दस आकर्षक डिजाइन
परम्परागत रंगोली : चामलको पीठो वा सेतो चकको धुलोबाट बनाइने यो डिजाइन रेखा र थोप्लाको संयोजनमा तयार हुन्छ। रंग उपलब्ध नभए पनि सेतै रंगमा सुन्दर रंगोली बनाउन सकिन्छ।
अमूर्त रंगोली : पाहुनाको ध्यान तान्न चम्किला रंग प्रयोग गरी फूल, घुमाउरा रेखा र विविध आकृति मिसाएर यस्तो रंगोली बनाइन्छ। ठूलो फूल र त्यसको वरिपरि फैलिएका रंगले यसलाई आकर्षक देखाउँछन्।
देवीदेवताको आकृति : धार्मिक आस्थासँग जोडिएको यो डिजाइनमा रुचि र आस्थाअनुसार देवीदेवताका आकृति बनाइन्छ। तिहारमा गणेशको आकृति बढी लोकप्रिय मानिन्छ।
सजिलो रंगोली : समय वा ठाउँ सीमित भए चकको धुलो वा रंगको सहायताले हातैले साना फूल वा गोलाकार आकृति बनाउन सकिन्छ। कम ठाउँमा पनि यो सुन्दर देखिन्छ।
फूलको रंगोली : रंगको धुलो प्रयोग गर्न कठिन लागे सयपत्री, मखमलीलगायत विभिन्न रंगका फूलबाट आकर्षक प्याटर्न बनाउन सकिन्छ। फूलको प्राकृतिक रंग र सुगन्धले घर–आँगनलाई मनमोहक बनाउँछ।
ज्यामितीय रंगोली : रेखा, वृत्त र त्रिभुजजस्ता आकारको संयोजनबाट बनाइने यो डिजाइन आधुनिक देखिन्छ। विविध रंगसँगै दियो राख्दा यो अझ मनमोहक हुन्छ।
मोती र पोतेको रंगोली : भव्य र फरक शैलीका लागि मोती, पोते तथा रंगीन स्टोन प्रयोग गर्न सकिन्छ। पहिले प्याटर्न तयार गरी रंग भरेपछि मोती र स्टोनले सजाइन्छ।
रंगीन चामलको रंगोली : चामललाई विभिन्न रंगमा भिजाएर वा रंग मिसाएर रंगीन चामल तयार गरी आकृति बनाइन्छ। चामललाई शुभ मानिने भएकाले तिहारमा यसको प्रयोग विशेष अर्थपूर्ण मानिन्छ र यसबाट गणेशको आकृतिसमेत बनाउन सकिन्छ।
बोर्डर रंगोली : आँगन सानो भए मूलढोकाको वरिपरि वा भुइँमा रंगीन रेखा र फूलका डिजाइन बनाएर घर सजाउन सकिन्छ। यसमा दियो राख्दा तिहारको माहोल थप आकर्षक देखिन्छ।
मयुरको रंगोली : हिन्दू धर्ममा मयुरलाई शुभताको प्रतीक मानिन्छ। चम्किला रंग र ज्यामितीय आकारको संयोजनबाट मयुरको आकर्षक आकृति बनाउन सकिन्छ।
रंगोली बनाउन ठूलो ठाउँ वा महँगो सामग्री अनिवार्य छैन। थोरै रंग, केही फूल र सिर्जनशील सोचले पनि घरको मूलढोकालाई उत्सवमय बनाउन सकिन्छ। परम्पराको सम्मान गर्दै आफ्नै शैलीमा बनाइएको रंगोलीले तिहारको खुसीलाई अझ रंगीन बनाउने विश्वास गरिन्छ।







