मुख्य सामग्रीमा जानुहोस्

तिहारको लामो बिदामा मुस्ताङमा पर्यटक बढे, कात्तिकको पहिलो १५ दिनमा ३५ हजार ८५८ जना भित्रिए

तिहारअघि र पछि लामो सरकारी बिदा पर्नुका साथै मौसम अनुकूल बन्दै गएपछि हिमाली जिल्ला मुस्ताङमा पर्यटकको भीड लागेको छ। कात्तिक १ देखि १५ गतेसम्म जिल्लामा ३५ हजार ८५८ पर्यटक भित्रिएका छन्।

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
तिहारको लामो बिदामा मुस्ताङमा पर्यटक बढे, कात्तिकको पहिलो १५ दिनमा ३५ हजार ८५८ जना भित्रिए
Online Khabar

तिहारअघि र पछि लामो सरकारी बिदा पर्नुका साथै मौसम अनुकूल बन्दै गएपछि हिमाली जिल्ला मुस्ताङमा पर्यटकको आगमन बढेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कअनुसार कात्तिक १ देखि १५ गतेसम्म जिल्लामा ३५ हजार ८५८ पर्यटक भित्रिएका छन्।

भित्रिएकामध्ये २७ हजार १०७ स्वदेशी र ८ हजार ७५१ विदेशी पर्यटक रहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए। विदेशी पर्यटकमध्ये सार्क राष्ट्रबाट ७ हजार ७१४ र अन्य राष्ट्रबाट १ हजार ३७ जना रहेका उनले बताए।

यस वर्ष दसैँअघि र पछिको अवधिमा भने मुस्ताङले अपेक्षा गरेअनुरुप पर्यटक पाएको थिएन। भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीलगायत प्राकृतिक जोखिमका कारण आवागमन प्रभावित हुँदा विगतका वर्षजस्तो सङ्ख्या देखिएको थिएन। तिहार नजिकिएसँगै मौसम सुधार भएपछि स्वदेशी तथा विदेशी दुवै पर्यटक बढेको प्रहरीले जनाएको छ।

विदेशी पर्यटकको तुलनामा स्वदेशी पर्यटकको सङ्ख्या दुई तिहाइले बढेको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे। बिदाको समयमा स्कुल, कलेज, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सहकारी र टोल समितिका व्यक्ति घुम्न मुस्ताङ पुग्ने गरेको उनको भनाइ छ।

मुक्तिनाथ पहिलो रोजाइ

मुस्ताङ पुगेका अधिकांश पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्कने र केही कोरला नाकासम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। हिमाली जिल्लामा हिउँदयामको चिसो बढे पनि छठ पर्वसम्म सरकारी बिदा रहने भएकाले स्वदेशी पर्यटकको आगमन जारी रहने पर्यटन व्यवसायीको भनाइ छ।

तिहार तथा छठको अवधिमा युवापुस्ताको घुमफिरको रोजाइ मुस्ताङ बन्दै गएको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले बताए। मुक्तिनाथको दर्शनलाई बहाना बनाएर पर्यटक जिल्लाका विभिन्न गन्तव्य घुमेर फर्कने गरेको उनको भनाइ छ।

पहुँच सहज, गन्तव्य विविध

बर्सेनि सडक यातायात सहज हुँदै जाँदा मुस्ताङमा पर्यटक बढ्ने क्रम जारी रहेको छ। यसपाली बेनी–जोमसोम सडक अवरुद्ध हुँदा र केही समय मौसम प्रतिकूल रहे पनि गत वर्षको आगमन सङ्ख्यामा भने असर देखिएको छैन।

मुक्तिनाथपछि पर्यटकले कोरला नाका, लोमान्थाङ दरबार, झोङ गुफा, घर गुम्बा, दामोदरकुण्ड तीर्थ, चिउसी गुफा, ढुम्बाताल, कागबेनी, जोमसोम, मार्फा तथा थासाङ गाउँपालिकाको सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवलोकन गर्ने गरेका छन्। जिल्लाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधता र हिमाली जनजीवन हेर्न पनि पर्यटक आउने गरेका छन्।

पछिल्लो समय नेपाल–चीन उत्तरी कोरला नाका आन्तरिक पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्दै गएको छ।