मुख्य सामग्रीमा जानुहोस्

धादिङ सदरमुकामलाई राजमार्गसँग जोड्न फुर्केखोलामा पन्टुन ब्रिज जडान सुरु, १३ वटै स्थानीय तहको लागत साझेदारी

१० भदौको बाढीले फुर्केखोला पुल बगाएपछि धादिङ सदरमुकाम र पृथ्वी राजमार्गबीचको सम्पर्क विच्छेद भएको छ । जिल्लाका १३ वटै स्थानीय तहले लागत बाँडेर अस्थायी पन्टुन ब्रिज जडान अघि बढाएका छन्, जुन हिउँदयाममा मात्र सञ्चालनयोग्य…

विश्वपत्र संवाददाता

· २ मिनेटको पढाइ

१पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
धादिङ सदरमुकामलाई राजमार्गसँग जोड्न फुर्केखोलामा पन्टुन ब्रिज जडान सुरु, १३ वटै स्थानीय तहको लागत साझेदारी
Online Khabar

१० भदौको बाढीले फुर्केखोला पुल बगाएर विच्छेद भएको धादिङ सदरमुकाम–पृथ्वी राजमार्ग सम्पर्कलाई तत्कालका लागि जोड्न जिल्लाका सबै १३ वटा स्थानीय तहको लागत साझेदारीमा फुर्केखोलामा पन्टुन ब्रिज जडान सुरु गरिएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाका अनुसार भाइटीकाको भोलिपल्टदेखि पुल जडानको काम थालिने छ ।

पन्टुन ब्रिज अस्थायी प्रबन्ध हो । पानीको बहाव कम हुने हिउँदयाममा मात्र यो सञ्चालन गर्न सकिन्छ । यातायात सुचारु गर्ने उद्देश्यले तत्कालका लागि यस्तो संरचना राख्न लागिएको प्रमुख ढुंगानाले जानकारी दिए ।

पुलका लागि आवश्यक ड्रम र अन्य संरचना बर्दिया राजापुरबाट धादिङ पुर्‍याइएको छ । राजापुरको पन्टुनमा ३३ वटा ड्रम रहेकोमा तीन ड्रम यसअघि नै बाढीले बगाएको थियो । धादिङमा २४ वटा ड्रम ल्याइएको प्रमुख ढुंगानाले बताए । प्राविधिकको जाँचपासमा सोही संख्याका ड्रम जोड्दा नदी वारपार गर्न सकिने देखिएपछि त्यति नै संख्यामा पुलका पार्टहरू ढुवानी गरिएको उनको भनाइ छ । एउटा कन्टेनरमा दुईवटा पार्टमात्र राख्न सकिने भएकाले सोहीअनुसार रकम भुक्तानी गरी संरचना धादिङ ल्याइएको उनले जनाए ।

अहिले पुलका पार्टहरूको मर्मत र रङरोगन तथा पुलसम्म पुग्ने पहुँचमार्ग निर्माणको काम भइरहेको छ । प्राविधिकको सल्लाहअनुसार पहिलो चरणमा हलुका सवारीसाधन र अत्यावश्यक सेवाका सवारी मात्र आवागमन गराइने, त्यसपछि मात्र भारी सवारीको परीक्षण गरिने प्रमुख ढुंगानाले बताए ।

सेवा नपाएर थन्किएको पन्टुन

यो पन्टुन कुनै समय बर्दिया राजापुर क्षेत्रको परिचय बनेको थियो । गेरुवा नदीमा यसले २०५६ देखि २०७० सालसम्म १४ वर्ष सेवा दिएको थियो । कात्तिकदेखि जेठसम्म नदीमाथि राखेर यसबाट यातायात सञ्चालन गरिन्थ्यो, जसकारण स्थानीयले यसलाई राजापुरको बरदान मान्थे । एसियाली विकास बैंकको करिब सात करोड ऋण सहयोगमा भित्र्याइएको यो चिनियाँ प्रविधिको पुल हो ।

लामो समय मर्मत नगरिएकाले कतिपय ड्रममा खिया लाग्ने र प्वाल पर्ने समस्या देखिएको थियो भने पन्टुन व्यवस्थापन राजापुर सिँचाइ आयोजनाका लागि समेत टाउके दुखाइ बनेको थियो । कर्णाली नदीमाथि कोठियाघाटमा पक्की पुल निर्माण हुनुअघि यसैले यातायात सुविधा दिएको थियो । असोज २०७१ मा सोही स्थानमा पक्की पुल उद्घाटन भएपछि पन्टुन थन्किएर जीर्ण अवस्थामा रहेको थियो । पन्टुन राजापुर सिँचाइ व्यवस्थापन कार्यालय मातहत थियो ।

प्रयोगविहीन पुलको क्षमता केही कम भए पनि प्रयोग गर्न योग्य रहेको प्राविधिकले जाँचपछि बताएकाले धादिङमा जडान गर्ने निर्णय गरिएको प्रमुख ढुंगानाले जानकारी दिए । स्थानीय तहले सिँचाइ विभाग र मन्त्रालयबाट समेत सिफारिस लिएर फुर्केखोलामा जडानको अन्तिम तयारी गरेको छ ।

स्थायी पुलका लागि दबाब

बाढीले फुर्केखोला पुल बगाएपछि धादिङ सदरमुकाम पृथ्वी राजमार्गसँग जोडिने मार्ग विच्छेद भएको छ । यसले धादिङ र गोरखाका केही गाउँको यातायात सेवामा अवरोध पुर्‍याएको छ । अस्थायी विकल्पबाट यातायात चलाइए पनि यात्रुले सास्ती खेप्नुपरेको, महँगी बढेको र स्थानीय उत्पादनले बजार नपाएको प्रमुख ढुंगानाले बताए ।

फुर्केखोलामा छिटो स्थायी पुल बनाउनुपर्ने आवश्यकता भए पनि निर्माणको काम नै सुरु नभएकाले स्थानीय सरकारहरू मिलेर अस्थायी जोहो गर्न लागेको उनको भनाइ छ । अस्थायी पन्टुन बनाउन मात्र ३०–३५ लाख रुपैयाँ लागत लाग्ने उनले जानकारी दिए । स्थायी पुल वा बेलिब्रिज स्थानीय तहको क्षमताले जडान गर्न नसकिने भएकाले संघीय सरकारले छिटो पहल गर्नुपर्ने उनले बताए । स्थानमा स्थायी पुल निर्माणका लागि निरन्तर दबाब कायम राखिने पनि उनले जनाए ।