नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा फैलिएको घृणा र विध्वंसको प्रवृत्ति परित्याग गर्दै निर्माणमुखी तथा सकारात्मक सोच विकास गर्न आह्वान गरेका छन्। कुरा मात्र गर्ने बानी छाडेर कामबाटै देखाउने बाटोतर्फ लाग्न उनले नागरिकलाई सुझाव दिए।
बडादसैँ, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वका अवसरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले 'बात बहादुर' नभई 'काम बहादुर' बन्न आग्रह गरेका हुन्।
खराब आचरण गर्ने मानिसलाई पशुसँग दाँज्नु आफैँमा पशुप्रति गरिएको अन्याय हुने उनको भनाइ थियो। मानिसले जस्तो अन्याय, षड्यन्त्र र जालझेल पशुले गर्दैनन् भन्ने उनले उल्लेख गरे। अत्यधिक लोभ र स्वार्थले मानिसलाई नैतिक रूपमा खस्काउँदै राक्षसी प्रवृत्तितर्फ धकेल्ने पनि उनले बताए।
नैतिक चेतनामै अडिएको छ राजनीति र अर्थतन्त्र
बस्नयोग्य, सभ्य र समुन्नत समाज निर्माणका लागि नैतिक, सांस्कृतिक र मानवीय चेतना उच्च बनाउनुपर्ने ओलीले औँल्याए। राजनीति र अर्थतन्त्रलाई सही दिशामा डोर्याउने आधार पनि यही नैतिक चेतना भएको उनको भनाइ छ। नागरिकको नैतिक बल, भावना र सांस्कृतिक मनोवृत्ति माथि उठ्न सके राजनीति र अर्थतन्त्र आफैँ सकारात्मक बाटोमा अघि बढ्ने उनले बताए।
समाजमा एकआपसमा रहेको घृणा, लोभ, छलकपट र स्वार्थ हटाएर प्रेम, करुणा, इमानदारी तथा सहकार्यको भावना जगाउनुपर्नेमा उनले जोड दिए। संस्कृतिले सिकाएका असल मूल्य र मान्यता आत्मसात गर्दै राम्रा परम्पराको संरक्षण एवं समयानुकूल परिमार्जन गरेर नयाँ पुस्ताका लागि अझ सभ्य, समृद्ध र सुन्दर समाज निर्माणमा सबै लाग्नुपर्ने उनको आग्रह छ।







