गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल दुवै निकायमा नयाँ दरबन्दी थप्ने गृहकार्य अघि बढाएको छ। मन्त्रिपरिषद्को पूर्वस्वीकृतिबमोजिम गठन भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको सिफारिसका आधारमा दरबन्दी बढाउने प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले हालै सार्वजनिक गरेको पछिल्लो तीन महिनाको प्रगति विवरणअनुसार नेपाल प्रहरीतर्फ जम्मा २ हजार १९४ दरबन्दी थप्ने प्रस्ताव तयार भएको छ। त्यसमध्ये जनपदतर्फ १ हजार ६६४ र प्राविधिकतर्फ ५३० दरबन्दी रहेका छन्। यी प्रस्तावमा अर्थ मन्त्रालयको सहमति माग्दै पत्राचार गरिएको विवरणमा उल्लेख छ।
यस्तै, सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गठित समितिको सिफारिसअनुसार १ हजार ७७४ दरबन्दी थप्ने विषयमा पनि अर्थ मन्त्रालयको सहमति मागिएको छ।
अहिले नेपाल प्रहरीमा ७९ हजार ५४१ र सशस्त्र प्रहरी बल नेपालमा ३७ हजार १५३ स्वीकृत दरबन्दी रहेको मन्त्रालयले जनाएको छ। प्रस्तावित दरबन्दी स्वीकृत भएमा दुवै निकायको कुल दरबन्दी संख्या केही बढ्नेछ।







