बलात्कार र यौन दुर्व्यवहारका चार अभियोगमा दोषी ठहरिएका बेलायती अभिनेता एवं हास्यकलाकार रसेल ब्रान्डलाई लन्डनको साउथवार्क क्राउन कोर्टले सोमबार १० वर्ष ६ महिना कैदको सजाय सुनाएको छ। ५१ वर्षीय ब्रान्डले सन् २००४ देखि २००९ का बीचमा ती कसुर गरेको अदालतको ठहर छ।
अदालतले ब्रान्डले एक महिलालाई बलात्कार गरेको र थप तीन महिलामाथि यौन दुर्व्यवहार गरेको ठहर गरेको छ। सजाय सुनाउँदै न्यायाधीश जोएल बेन्नाथनले ब्रान्ड आफ्नो लोकप्रियताकै कारण धेरैका नजरमा रमाइलो र आकर्षक व्यक्तित्वका रूपमा चिनिए पनि उनी यौन शिकारीसमेत बनेको टिप्पणी गरे। उनले ब्रान्डले प्रसिद्धिका आडमा महिलाप्रति अहंकारी व्यवहार देखाएको पनि बताए।
आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै ब्रान्डले महिलासँगका सम्बन्ध आपसी सहमतिमा भएको दाबी गरेका थिए। तर आठ पुरुष र चार महिला सदस्य रहेको जुरी मण्डलले भने उनलाई चार अभियोगमा दोषी ठहर गर्यो। बाँकी दुई बलात्कारका अभियोग र एक महिलामाथि अभद्र यौन व्यवहार गर्न खोजेको आरोपबाट भने उनी सफाइ पाएका छन्।
अभियोजक रिएल कार्मी-जोन्सले ब्रान्डले आफ्नो ख्याति र प्रभावलाई महिलासम्म पुग्ने माध्यमका रूपमा प्रयोग गरेको आरोप लगाइन्। यसले उनलाई जे गरे पनि कारबाहीबाट बच्न सकिन्छ भन्ने विश्वास दिलाएको उनको भनाइ थियो।
पीडितले सुनाएका अनुभव
अदालतमा पीडित महिलाहरूले आफूमाथि भएको घटनाले वर्षौंसम्म मानसिक असर पारेको बताएका थिए। सन् २००९ मा ब्रान्डको कमेडी कार्यक्रम हेरेर उनलाई भेटेकी एक महिलालाई उनकै घरमा बलात्कार भएको थियो। सो घटनापछि आफूलाई खान र सुत्नसमेत गाह्रो भएको तथा मानसिक तनावका कारण मदिराको अत्यधिक सेवन सुरु गरेको ती महिलाले बताइन्। ब्रान्डको प्रसिद्धि र शक्तिका कारण आफूले न्याय पाउँछु भन्ने विश्वास नै नभएको उनको भनाइ थियो।
अर्की महिलाले रेडियो स्टेसनमा भएको यौन दुर्व्यवहारले आफ्नो जीवनमा दीर्घकालीन असर पुर्याएको जनाइन्। यसैगरी सन् २००९ मा विज्ञापन रेकर्डिङका क्रममा भएको अनुचित व्यवहारको आरोपमा दोषी ठहरिएकी अर्की महिलाले तत्कालीन व्यवस्थापनले आफ्नो उजुरी दबाएको गुनासो अदालतमा राखिन्।
सजायका सर्त र बाँकी अनुसन्धान
ब्रान्डका वकिल इयान विन्टरले उनको विगतको असल आचरण, परोपकारी काम तथा लागूपदार्थ र मदिराको लतबाट निस्कन गरेको प्रयासलाई ध्यान दिन अदालतसँग आग्रह गरेका थिए। तर अदालतले त्यसलाई पर्याप्त आधार मानेन र साढे १० वर्षको कैद सुनायो। सजायको दुई तिहाई अवधि जेलमा बिताएपछि उनी सर्तसहित रिहा हुन सक्नेछन् भने यौन अपराधीको सूचीमा उनको नाम जीवनभर रहनेछ।
सन् २०२३ मा द टाइम्स र च्यानल ४ ले ब्रान्डबाट यौन दुर्व्यवहार भोगेको दाबी गर्ने महिलाहरूको विवरण सार्वजनिक गरेपछि प्रहरीले उनीविरुद्ध अनुसन्धान सुरु गरेको थियो। सन् २००० को दशकमा टेलिभिजन कार्यक्रम र बीबीसी रेडियो शो सञ्चालन गरी चर्चामा आएका ब्रान्डले 'फरगेटिङ सारा मार्शल' र 'गेट हिम टु द ग्रीक' जस्ता हलिउड फिल्ममा अभिनय गरेका छन्। उनी अमेरिकी गायिका केटी पेरीका पूर्वपति पनि हुन्।
पछिल्ला वर्षमा मूलधारको सञ्चारमाध्यमबाट टाढा रहेर अमेरिकाको फ्लोरिडामा बस्दै आएका उनले सामाजिक सञ्जालमा धर्म, स्वास्थ्य र षड्यन्त्रसम्बन्धी भिडियो सार्वजनिक गर्दै आइरहेका थिए। यसैबीच, ब्रान्डविरुद्ध परेका थप दुई बलात्कारका आरोपमा प्रहरीले अनुसन्धान जारी राखेको छ। तीमध्ये एक घटनाका बेला उजुरीकर्ता १६ वर्षकी रहेको बताइएको छ।







