आगामी कात्तिक २७ गतेसम्म देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले सोमबार साँझ जारी गरेको विशेष बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसका कारण आउँदो पाँच दिन उच्च पहाड र हिमालमा मौसम बदली भइरहने उल्लेख छ।
यसै अवधिमा तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ। देशका अन्य भागमा पनि खुला मौसम कायम रहने बुलेटिनमा उल्लेख गरिएको छ।
रातिदेखि शुक्रबारसम्मको अवस्था
सोमबार राति बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्छ। मङ्गलबार पनि हिमाली र पहाडी भेगमा आंशिक बदली लाग्ने तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा वर्षा र हिमपात हुने सम्भावना विभागले देखेको छ।
कात्तिक २५ गते बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। सोही दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा पनि वर्षा र हिमपात पर्न सक्ने जनाइएको छ।
कात्तिक २६ गते बिहीबार कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। कात्तिक २७ गते शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।
बुलेटिनअनुसार यो अवधिभर देशका बाँकी भूभाग, विशेषगरी तराई क्षेत्रमा मौसम सफा नै रहनेछ।







