गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम दिनको तोकिएको समयभित्र मात्र नभई चौबीसै घण्टा सञ्चालन गर्न दिने गरी देशभरका प्रशासनलाई निर्देशन दिएको छ। मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै यस्तो व्यवस्था गर्न भनेको हो।
परिपत्रमा नेपाली मौलिक कला तथा संस्कृतिलाई प्रोत्साहन गर्ने र सामाजिक सद्भाव संरक्षण हुने गरी देउसी–भैलो अनुशासित ढङ्गबाट सञ्चालन गर्न भनिएको छ। कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित हुनुपर्ने तथा कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नहुने सर्त मन्त्रालयले राखेको छ।
गर्न नहुने काम
चाडपर्वका क्रममा कुनै पनि गतिविधि सामाजिक सद्भावविपरीत नपरोस् भनेर मन्त्रालयले केही काम गर्न रोक लगाएको छ। तीमध्ये मुख्य रूपमा यी पर्छन्–
कुनै जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा तथा द्वेष फैलाउने अश्लील नृत्य, गीत, सङ्गीत वा नाराको प्रयोग
चाडपर्व मनाउने क्रममा जुवातास खेल्ने
सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने
मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने
यस्तै, अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम वा ध्वनि उपकरण प्रयोग नगर्न पनि मन्त्रालयले निर्देशन दिएको छ। अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा भने विशेष सावधानी अपनाउन भनिएको छ।
मन्त्रालयका शाखा अधिकृत आनन्द न्यौपानेद्वारा जारी उक्त पत्रमा सचिवस्तरीय निर्णयबाट यो निर्देशन दिइएको उल्लेख छ।







