आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टीको माथिल्लो तहले हस्तक्षेप नगर्ने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले बताएका छन्। उम्मेदवार को बन्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार सम्बन्धित तल्लो तहसँगै रहनुपर्ने उनको भनाइ छ।
भक्तपुरको मध्यपुरथिमिमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै संयोजक दाहालले टिकट वितरणमा केन्द्रबाट निर्देशन वा दबाब नआउने प्रतिबद्धता जनाए। स्थानीय तहका उम्मेदवार छनोट गर्ने जिम्मेवारी सम्बन्धित तहलाई नै दिनुपर्नेमा उनले जोर दिए।
संविधानअनुसारै निर्वाचन
सोही कार्यक्रममा उनले संविधान तथा कानुनले तोकेकै व्यवस्थाअनुसार आगामी स्थानीय तह र प्रदेशको निर्वाचन हुनुपर्ने बताए। स्थानीय तहको पाँच वर्षे कार्यकाल आगामी जेठ ५ गते सकिने भएकाले सोही मितिलाई आधार मानेर निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो।
निर्वाचन आयोगले वैशाखमा स्थानीय तह र आगामी मङ्सिरको पहिलो साता प्रदेश निर्वाचन गर्ने प्रस्ताव अघि सारेको जानकारी पनि दाहालले दिए। राजनीतिक दलहरूको धारणा पनि संविधानको व्यवस्थाबमोजिम नै निर्वाचन हुनुपर्ने पक्षमा रहेको उनले उल्लेख गरे। लोकतन्त्रको संरक्षणका लागि संविधानको रक्षा अनिवार्य रहेको उनको भनाइ छ।
कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले जागरण अभियानका क्रममा जनताको घरदैलोमा पुगेर पार्टीले विगतमा गरेका कामको जानकारी गराउनुपर्ने बताए।







