मुख्य सामग्रीमा जानुहोस्

एनपिएलका सर्वोत्कृष्ट खेलाडी रिजन ढकाल गृह जिल्लामा सम्मानित, हेटौँडा उपमहानगरसहित विभिन्न संस्थाबाट पुरस्कृत

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका रिजन ढकाल गृह जिल्ला मकवानपुरमा सम्मानित भएका छन्। हेटौँडा उपमहानगरपालिका, क्याम्पस, विद्यालय, वडा कार्यालयलगायतका निकायले उनलाई नगद पुरस्कारसहित बधाई…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Nagariknetwork
एनपिएलका सर्वोत्कृष्ट खेलाडी रिजन ढकाल गृह जिल्लामा सम्मानित, हेटौँडा उपमहानगरसहित विभिन्न संस्थाबाट पुरस्कृत
Nagariknetwork

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन्। चितवन राइनोजबाट खेलेर प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका उनलाई हेटौँडामा विभिन्न संघसंस्थाले नगद र सम्मानपत्रसहित अभिनन्दन गरेका छन्।

एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेबापत ढकालले कार, मोटरसाइकल र नगद दुई लाख रुपैयाँ पुरस्कार पाएका थिए। आइतबार हेटौँडा आएयता मंगलबारसम्म उनलाई स्थानीय निकाय तथा संस्थाले सम्मान गर्दै आएका छन्।

देब्रेहाते तीव्र गतिका बलर ढकाललाई हेटौँडा उपमहानगरपालिकाले एक लाख रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरेको छ। उनी सोही उपमहानगरपालिकाको वडा नम्बर २ का बासिन्दा हुन्। यसैगरी हेटौँडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसले पनि उनलाई एक लाख रुपैयाँसहित सम्मान गरेको छ। बालजागृती इङ्लिस स्कुलले २५ हजार रुपैयाँसहित ढकालको अभिनन्दन गरेको छ। हेटौँडा-४ हुप्रचौरमा रहेको डिडिसी आउटलेटले पनि उनलाई सम्मान गरेको छ।

हेटौँडा उपमहानगरपालिका-२ नम्बर वडा कार्यालयले ढकाललाई ३५ हजार रुपैयाँ प्रदान गरेको छ। हेटौँडा-२ पुरानो मकवानपुर रोडमा रहेको निको अस्पताल प्रालिले नगदसहित सम्मानपत्र दिँदै उनका परिवारका सदस्यको एक वर्षसम्म निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।

गृह जिल्लाका संघसंस्थाले गरेको सम्मानले आफूलाई थप हौसला मिलेको ढकालले प्रतिक्रिया दिएका छन्। गृह जिल्लामा यति धेरै माया पाउँदा आफू निकै खुसी रहेको र आगामी दिनमा निरन्तर क्रिकेट खेलमै लाग्न प्रेरणा मिलेको उनको भनाइ छ।

प्रतियोगिताको तेस्रो संस्करणमा ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वाधिक विकेट लिने नेपाली बलर तथा समग्रमा सर्वाधिक विकेट लिने बलर बनेका थिए। उनले सर्वाधिक विकेटकर्ताको गोल्डेन क्याप पनि जितेका छन् भने पूरा प्रतियोगितामा १७ विकेट लिएका थिए।