जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिन स्वास्थ्य मन्त्री निशा मेहता तथा महिला मन्त्री सीता बादी महाराजगञ्जको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्। बुधबार अस्पताल पुगेका दुवै मन्त्रीले उपचाररत ढकाललाई भेटेका थिए।
भेटका क्रममा मन्त्रीद्वयले ढकालको उपचार कसरी अघि बढिरहेको छ, थप के–कस्ता उपचार आवश्यक पर्छ र उपचारपछिको पुनर्स्थापनाका लागि के गर्नुपर्छ भन्ने विषयमा जानकारी लिएका थिए। उनीहरूले ढकालका परिवारसँग पनि कुराकानी गर्दै परिवारले भोगिरहेका समस्याबारे बुझेका छन्।
ढकालको उपचार प्रभावकारी बनाउने, उपचार सकिएपछि पुनर्स्थापनामा टेवा पुर्याउने र परिवारको आर्थिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण अघि बढाउने प्रतिबद्धता मन्त्रीद्वयले व्यक्त गरेका छन्।
उपचारमात्र नभई घाइतेको दैनिक जीवनयापन र पुनर्स्थापनासम्मको जिम्मेवारी राज्यको भएकाले त्यसलाई पूरा गर्न सरकार दृढ रहेको उनीहरूले बताएका छन्।







