मुख्य सामग्रीमा जानुहोस्

आईपीएल मिनी अक्सनमा बेन स्टोक्सको नाम दर्ता, आधार मूल्य दुई करोड

इन्डियन प्रिमियर लिगको आगामी सिजनअघि हुने मिनी अक्सनका लागि इंग्ल्यान्डका बेन स्टोक्सले नाम दर्ता गराएका छन् । अक्सन डिसेम्बर १६ मा गोवामा हुँदैछ र स्टोक्सको आधार मूल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको छ । प्रारम्भिक…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
आईपीएल मिनी अक्सनमा बेन स्टोक्सको नाम दर्ता, आधार मूल्य दुई करोड
Online Khabar

आगामी आईपीएल सिजनअघि आयोजना हुने मिनी अक्सनका लागि इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले नाम दर्ता गराएका छन् । डिसेम्बर १६ मा भारतको गोवामा हुने उक्त अक्सनमा उनको आधार मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको छ ।

सन् २०२५ को मेगा अक्सनमा स्टोक्स सहभागी भएका थिएनन्, जसका कारण आगामी अक्सनमा उनको सहभागितामाथि अन्योल देखिएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को नियमअनुसार विदेशी खेलाडीले मेगा अक्सनमा नाम दर्ता गराउनुपर्ने हुन्छ र त्यसो नगर्ने खेलाडीले त्यसपछिको वर्ष हुने अक्सनमा नाम दर्ता गर्न पाउँदैनन् । तैपनि स्टोक्सलाई अक्सनमा सहभागी हुन स्वीकृति दिइएको छ ।

३५ वर्षीय स्टोक्सले यसअघि राइजिङ पुणे सुपरजायन्ट, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सका तर्फबाट आईपीएल खेलेका छन् । पाँच सिजनमा गरेका ४५ खेलमा उनले ९३५ रन जोडेका छन् भने २८ विकेट पनि लिएका छन् । उनले सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

बंगलादेशका ११ खेलाडी प्रारम्भिक सूचीमा

बीसीसीआईले मंगलबार फ्रेन्चाइज टोलीहरूलाई उपलब्ध गराएको प्रारम्भिक सूचीमा बंगलादेशका ११ खेलाडी परेका छन् । तर चर्चित खेलाडी मुस्ताफिजुर रहमान र शाकिब अल हसन भने सूचीमा छैनन् ।

सूचीमा समावेश बंगलादेशी खेलाडीमा हसन महमुद, परवेज हुसेन इमोन, रिपोन मन्डोल, रिशाद हुसेन, साइफ हसन, शाक महेदी हसन, शमिम हुसेन, शोरिफुल इस्लाम, तन्जिम हसन साकिब, तौहिद हृदोय र मोहम्मद रुबेल छन् ।

अक्सन सूचीमा एक हजार २२० खेलाडी

आगामी अक्सनको प्रारम्भिक सूचीमा कुल एक हजार २२० खेलाडी रहेका छन्, जसमध्ये ९३९ भारतीय र २८१ विदेशी खेलाडी छन् । अक्सनमार्फत बढीमा ६६ खेलाडी अनुबन्ध हुन सक्नेछन्, जसमा २५ विदेशी खेलाडीका लागि स्थान छुट्याइएको छ ।

बीसीसीआईले फ्रेन्चाइज टोलीलाई प्रारम्भिक सूचीमा छुटेका खेलाडीको नाम थप्न नोभेम्बर २७ सम्मको समय दिएको छ । सो अवधिपछि डिसेम्बर १ सम्म टोलीहरूले अक्सनमा समावेश गर्न चाहेका खेलाडीको सूची बुझाउनुपर्नेछ ।