मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडक खण्डमा आइतबार दिउँसो भएको दुर्घटनामा परी काठमाडौंका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप सडकबाट अन्दाजी ६०० फिट तल खसेको प्रहरीले जनाएको छ। कच्ची सडक खण्डमा भएको यो दुर्घटना दिउँसोको समयमा भएको हो।
मृत्यु हुनेहरूमा काठमाडौं कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णबहादुर थापा रहेका छन्। घाइते हुनेहरूमा ललितपुरकी ५४ वर्षीया अञ्जु थापा र ५८ वर्षीय कञ्चन थापा छन्। उनीहरू रारा जाने क्रममा रहेका थिए।
उक्त जिप ललितपुर महानगरपालिका–१५ बस्ने ५८ वर्षीय कञ्चन थापाले चलाएका थिए। घाइतेहरूलाई उद्धार गरी अस्पताल पुर्याइएको डिएसपी रविराज थपलियाले जानकारी दिए। चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







